तपाईँ सुन्दै हुनुहुन्छः

लिबियाका शक्तिशाली नेताद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

लिबियाका शक्तिशाली नेता तथा पूर्वगृहमन्त्री फाथी बशाघाले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । 

तेलको धनी राष्ट्र लिबियामा आगामी महिना हुन लागेको राष्ट्रपतिय निर्वाचनका लागि उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

न्यायसहितको नयाँ लिबिया बनाउने उद्घोषका साथ उहाँले राजधानी त्रिपोलीमा घोषणा–पत्रसमेत सार्वजनिक गर्नुभएको छ ।  

त्यसैगरी मानवअधिकारको सम्मान गर्ने र बजार नियन्त्रित अर्थतन्त्र बनाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । 

राष्ट्रपतिका लागि ५९ वर्षीय बशाघाले समेत उम्मेदवारी घोषणा गरेसँगै अहिलेसम्म उम्मेदवारहरूको सङ्ख्या चार पुगेको छ ।

देशको राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका उम्मेदवारहरूमध्ये पूर्वराष्ट्रपति मोहम्मद गद्दाफीका छोरा पनि हुनुहन्छ । 

गद्दाफीका माइला छोरा सइफ अल इस्लाम गद्दाफीको उम्मेदवारीलाई लिबियालाई पुरानै अवस्थामा फर्काउने प्रयत्नको रूपमा व्याख्या गरिएको छ । 

आफ्नो पिताका सबैभन्दा योग्य उत्तराधिकारीका रूपमा हेरिएका उहाँलाई जिन्टन सहरको एक मिलिसियाको नियन्त्रणमा राखिएकोमा रिहा गरिएपछि उहाँले राजनीतिक गतिविधि गर्न लाग्नुभएको हो । 

उहाँप्रति लक्षित गर्दै नयाँ उम्मेदवार बशाघाले भन्नु भएको छ, “लिबिया फेरि पुरानै अवस्थामा फर्किन सक्दैन, आमनागरिक नयाँ लिबिया चाहन्छन, म त्यसका लागि काम गर्नेछु ।”

लिबियामा रगत र आँशु बगाउने दिनको आफूले अन्त्य गर्ने र सबैलाई खुसी र सुखी राख्ने अठोट पनि उहाँले व्यक्त गर्नुभएको छ । 

“हामीले अब पुनर्निर्माण, पुनस्र्थापना र पुनर्जागरणको अभियान चलाउनु पर्छ, त्यसका लागि मलाई जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो । 

पूर्वसैन्य विमान चालक तथा व्यवसायी बशाघाले फायज सार्जा नेतृत्वको अघिल्लो सरकारमा सन् २०१८ देखि गृहमन्त्रीको रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 

संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त शक्तिशाली सरकारमा गृहमन्त्री बन्ने मौका पाउनु भएका बशाघालाई लिबियाको शक्तिशाली नेताका रूपमा चिनिन्छ । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button