विश्व शौचालय दिवस : सफाइकर्मीको सम्मान, शौचालयको महत्त्व अमूल्य’ भन्ने नाराका साथ मनाइँदै

काठमाडौंं । आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।
विश्वका सबै नागरिकहरूलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।
विश्व शौचालय दिवसको अवसरमा खानेपानी मन्त्रालय र स्मार्ट वास सोलुसन्स प्रा.लि.को आयोजना तथा युनिसेफ नेपाल,वाटर एड नेपाल,पोखरा वास इन्ड्रस्ट्रिज प्रा।लि।र इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्यूटको सहयोगमा बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा सरसफाईकर्मीहरुको सम्मान गरिएको छ ।
कार्यक्रममा सफाइकर्मी जयराम लामा, सना नेवार, राजेश देउला, गोपाल महर्जन, जयराम विक, र यज्ञ सुवेदीलाई खानेपानी मन्त्रालयकी सहसचिव मिना श्रेष्ठले खादा र नगद पुरस्कारसहित कदर पत्र दिएर सम्मानित गर्नुभएको थियो ।
विश्व शौचालय दिवसको अवसरमा आयोजना गरिएको सो कार्यशालामा सफाइकर्मीको पेसागत स्वास्थ्य सुरक्षा र प्रतिष्ठाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै वाटर एड नेपालका वरिष्ठ नीति तथा पैरवी अधिकारी गोविन्द श्रेष्ठले दिशाजन्य फोहरको व्यवस्थापन र सार्वजनिक शौचालयको सफाइमा सफाइकर्मीको भूमिकाको महत्त्व दर्साउनुभएको थियो ।
उहाँले कोभिड १९ सुरु भएपछिको एक घटना सुनाउँदै भन्नुभयो, “जतिवेला हामीहरू घरबाट काम गरेर कोठामा बसेर जीवन सुरक्षित गरिरहेका थियौ,कोठाको झ्याल खोलेर हेर्दा छिमेकमा सफाइकर्मीहरू ढल खोलिरहनुभएको रहेछ । हरेक मानिस घरभित्रै माक्स लगाएर बसेको त्यस्तो बेलामा पनि आफ्नो स्वास्थ्य जोखिममा पारेर नगर सफाइमा लाग्नुहुने जनशक्ति वास्तवमै सम्मानका हकदार हुनुहुन्छ । सबै सफाइकर्मीको कदर गर्दै केही प्रतिनिधिलाई मात्र सम्मान गरिएको हो ।”

बहस सार्वजनिक शौचालयको
नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भइसकेकोले निजी शौचालयको महत्त्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको छ । अहिले यस क्षेत्रमा कार्यरत संस्थाहरूले सार्वजनिक स्थलमा पर्याप्त शौचालय बनाउने र तिनको सरसफाइ राख्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।
खानेपानी मन्त्रालय र स्मार्ट वासले आयोजना गरेको कार्यशालामा युनिसेफका खानेपानी सरसफाइ र स्वास्थ्य विज्ञ सिद्धि श्रेष्ठले खुला दिसामुक्त घोषणाको टिकाउ, इको कन्सर्न प्रा।लि।का इन्जिनियर कृष्णराम याड।दोले ढल प्रशोधन केन्द्रको सञ्चालन, पोखरा वास इन्ड्रस्ट्रिजका संस्थापक सुनिल कार्कीले शौचालय : हाम्रो मूल्य भन्ने विषयमा, गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सार्वजनिक शौचालयको अवस्था सञ्चालन,मर्मतसंभार र पहुँचको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवि शाक्य बज्राचार्यको सभापतित्वमा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले सबै नेपालीलाई संविधानले मौलिक हकमा व्यवस्था गरेको स्वच्छ खानेपानी र सरसफाइको हक उपलब्ध गराउनुका साथै स्वच्छ नेपाल बनाउने अभियानलाई सफल बनाउन निरन्तर कार्यक्रमको खाँचो देखिएको बताउनुभयो ।
उहाँले सरसफाइ र शौचालयको व्यवस्था मानव सभ्यताको सूचक भएकोले यसलाई विश्वस्तरमा कायम गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्मार्ट वासका अध्यक्ष ई। रामदीप शाहले सार्वजनिक शौचालयको व्यवस्थापन र शौचालयमा जम्मा भएको लेदोको व्यवस्थापन तथा शहरी क्षेत्रमा ढल प्रशोधन केन्द्रको स्थापना र सञ्चालन अहिले चुनौतीको रुपमा देखिएकोले तीनै तहका सरकारले त्यसतर्फ विचार पुर्याउनु पर्ने उल्लेख गर्नुभएको थियो ।
कार्यक्रमलाई विल एण्ड मिलिण्दा गेट्स फाउण्डेशनका उपनिर्देशक रोशनराज श्रेष्ठ, सोफेनका अध्यक्ष अनिलभद्र खनाल,काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल,खानेपानी मन्त्रालयकी सहसचिव मिना श्रेष्ठ र स्मार्ट वासका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

विश्वमा शौचालयको अवस्था
विश्वको जनसङ्ख्याको ठूलो हिस्सा झण्डै ३.६ अर्ब मानिसहरू सुरक्षित शौचालयको सुविधाबाट वञ्चित छन् । जब समुदायका केही मानिसहरूले सुरक्षित शौचालयको सुविधा पाउदैनन, उनीहरूले खुला स्थानमा दिसा पिसाब गरिदिन्छन् र त्यसले सबैको स्वास्थ्यलाई जोखिममा पार्दछ । खुला दिसा पिसाबले खानेपानीको स्थानीय स्रोत,नदी र खाद्य बालीमा असर गर्दछ । त्यसले ठूलो जनसङ्ख्याको स्वास्थ्यलाई जोखिमतिर पुर्याउछ ।
यस बर्ष संयुक्त राष्ट्र सङ्घले विश्व शौचालय दिवसको नारा शौचालयको महत्त्व (Valuing Toilets) राखेको छ । राष्ट्र सङ्घले यो विषयलाई किन महत्त्व दिएको छ भने विश्वका धेरै देशहरूमा शौचालय निर्माण र सरसफाइको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिँदैन, यसलाई न्यूनाकलन गरिन्छ । यसले स्वास्थ्य र आर्थिक तथा वातावरणीय पक्षमा भयानक परिणाम निम्त्याउने खतरा हुन्छ,विशेष गरी विपन्न र सीमान्तकृत समुदायमा ।
अर्कोतर्फ स्वास्थ्य र सरसफाइको क्षेत्रमा गरिएको १ डलरको लगानीले ५ डलरसम्म प्रतिफल दिन्छ भनिन्छ । यसले औषधोपचार खर्चमा बचत गर्नुका साथै व्यक्तिको उत्पादकत्व बढाउँदै सेवा श्रृखलामा अनगिन्ती रोजगारी पनि सिर्जना गर्दछ । अझ महिला र बालिकाको लागि घर,विद्यालय र कार्यस्थलमा शौचालय हुँदा तिनीहरूले आफ्नो सम्पूर्ण सामर्थ्य काममा लगाउन पाउँछन् र समाजमा पूर्ण भूमिका निर्वाह गर्न सक्दछन् । महिनावारी र गर्भवती हुँदा शौचालयको अभावमा उनीहरूले ठूलो सकस बेहोर्नुपर्दछ ।
शौचालय दिवसको सुरुआत
संयुक्त राष्ट्र सङ्घले सन २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवस मनाउन थालेको हो राष्ट्र सङ्घको महासभामा सिंगापुरले यो प्रस्ताव पेस गरेको थियो । त्यस यता राष्ट्र सङ्घको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ । त्यस अगाडि सिंगापुरमा अवस्थित विश्व शौचालय संस्था(वर्ल्ड ट्वाइलेट अर्गनाइजेशन) नाम एक गैरसरकारी संस्थाले सन २००१ देखि अनौपचारिक रुपमा विश्व शौचालय दिवस मनाउन थालेको थियो ।
संयुक्त राष्ट्र संघका विभिन्न प्रकाशनमा जनाइए अनुसार अझै पनि ६७ करोड ३० लाख मानिसहरू खुला दिसापिशाब गर्दछन् । राष्ट्र सङ्घको अगुवाइमा सुरु भएको दिगो विकास लक्ष्यको लक्ष्य नं ६ले सबैलाई दिगो र पर्याप्त पानी तथा सरसफाइको सुविधा उपलब्ध हुने सुनिश्चित गर्ने उद्देश्य राखेको छ । यसको लक्ष्य नं ६.२ मा खुला दिसा पिसाब रोक्ने र स्वास्थ्य तथा सरसफाईमा पहुँच पुर्याउने कुरा उल्लेख छ । सन २०२० को दिगो विकास लक्ष्यका प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा राष्ट्र संघका महासचिव अन्टरियो गुटेरसले दिगो विकास लक्ष्यको लक्ष्य नं ६ नराम्रोसँग विचलित भएको टिप्पणी गर्नुभएको थियो ।
खुला स्थानमा दिसा तथा पिसाब गर्नाले यसले खानेपानीका स्रोत,मुहान,खोला,नाला,नदी प्रदूषित गराउने र त्यसबाट हैजा,टाइफाइड,झाडा पखाला जस्ता रोग फैलिन गई आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकोले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिइएको हो ।
नेपाल खुला दिसामुक्त
नेपाल तीन बर्ष पहिले १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेको घोषणा भएको छ । यो दिन ल्याउनका लागि स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारीहरू, सामाजिक अभियन्ता र स्थानीय तथा राष्ट्रिय स्तरका राजनीतिक नेतृत्वको डेढ दशकभन्दा बढीको अथक परिश्रम परेको छ ।
नेपाललाई खुला दिसामुक्त पार्ने अवधारणाको विकास सन २००३ को सामुदायिक नेतृत्वको समग्र सरसफाइ कार्यक्रममार्फत सुरु भयो र विद्यालय नेतृत्वको समग्र सरसफाइ कार्यक्रम २००५ मा यसले मूर्त रूप लियो । सन २००५ देखि नै विद्यालय क्षेत्रलाई खुला दिसामुक्त राख्ने र गाउँ विकास समितिलाई खुला दिसामुक्त पार्ने अभियान सुरु भयो । मानव सभ्यता, शिष्टता र सरसफाइ तथा स्वास्थ्यसँग जोडिएको यो अभियानले अन्तर्राष्ट्रिय सरसफाइ बर्ष २००८ मा झन् तीव्रता पायो । सामाजिक अभियानको रुपमा सरसफाइ चेतना जागेको बेला २०११ मा ल्याइएको स्वास्थ्य र सरसफाइ गुरुयोजनाले सन २०१७ सम्म नेपाललाई खुला दिसामुक्त पार्ने लक्ष्यसहितको मार्ग निर्देशिका दियो । त्यसपछि स्थानीय सरकारको नेतृत्वमा खुला दिसामुक्त अभियानलाई विस्तारित गर्दै लगियो । २०७२ मा आएको विनाशकारी भूकम्पले दुई बर्ष विलम्बित हुन गए पनि नेपाल २०७६ मा खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । यो स्वास्थ्य,सरसफाइ र मानव सभ्यताको हिसाबले पनि महत्त्वपूर्ण उपलब्धि हो ।
अबको बाटो
घरमा शौचालय हुनु र खुला स्थानमा दिशा पिसाब नगर्दैमा सरसफाइको लक्ष्य हासिल हुँदैन । ढल प्रणालीमा नजोडिएका शौचालयमा जम्मा भएका दिशा र खोला नालामा निसृत गरिएका ढल हाम्रालागि ठूलो चुनौतीका विषय भएका छन् ।
देशभरका ७ सय ५३ पालिकाहरूमा ढल प्रशोधन र व्यवस्थापनको ठूलो चुनौती देखिएको छ । ढल प्रशोधन प्रणाली विकास र व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने खाँचो देखिएको छ । यसका लागि तीनै तहका सरकार, दातृ राष्ट्र तथा निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था र समुदायको साझेदारी,सहयोग र सहकार्य जरुरी देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्