सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल शुक्रवारबाट सुरु हुँदै

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा सातदोबाटो यूथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल फ्लड लाइटमा खेलाइने छ । खेल अपराह्न ४ः४५ बजे सुरु हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेलहरू हुने छन् ।
कुल ९१ खेल हुने लिगमा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ’बी’ डिभिजनमा झर्ने छन् ।
अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् ।
यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुवै टोलीले २५/२५ हजार पाउने छन् ।
लिगको पूर्व सन्ध्यामा सहभागी टिमका प्रशिक्षक र कप्तानले आफ्नो टोलीको तयारीबारे जानकारी दिएका छन् । प्रि–म्याच कन्फरेन्समा बोल्दै लिग खेल्ने अधिकांश टिमका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्