तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध त्रिवेणी–ताम्ती सडक सञ्चालन

खलङ्गा । जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्ड सञ्चालनमा आएको छ । 

गत कात्तिक पहिलो साता भएको अविरल वर्षापछि आएको बाढीले कटान गरेपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

बाढीले जुम्ला–जाजरकोटको करिब २० किलोमिटर सडकमा क्षति गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । बाढीले करिब ४०० मिटर सडक कटान गरेको थियो । 

सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर सो सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरी सञ्चालनमा ल्याएको सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०  किमी सडकमध्ये बाढीले ४०० मिटर सडक पूरै कटान गरेको थियो । मान्छे हिँड्ने बाटोसमेत थिएन । हामीले टोप्लासम्म सडकको साइडबाट ट्र्याक खोल्ने काम सकाएका छौँ । अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढाइने छ ।”

त्रिवेणीबाट ताम्तीसम्मको ४०० मिटर कटान भएको सडकमा ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । कटान क्षेत्रमा ग्यावियन पर्खाल निर्माणका लागि गत आवको रु दुई करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ । 

भेरी खोला क्षेत्रका नागरिकको आवतजावतलाई सहज गर्न तथा खाद्यान्न ढुवानीका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रुतगतिमा अघि बढाएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

टोप्लासम्म ट्र्याक खोल्ने काम सकिएको र अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढेको छ । साथै नाग्म गमगडी सडकको १० किमी सडक कालोपत्रे गर्ने काम पनि अघि बढेको कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button