तपाईँ सुन्दै हुनुहुन्छः

सहज तरिकाले ठुला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ : मन्त्री शर्मा

फाइल तस्बिर

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठुला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । 

मन्त्रालयमा आज आयोजित  विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उहाँले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठुला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गर्नुभयो । 

“अख्तियार, कानुन तथा अदालतलगायतले ठुला आयोजनाहरू नरोकिऊन्”, उहाँले भन्नुभयो, “सरल र रोकावटबिना ठुला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।”

उहाँले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानुन तर्जुमा गर्नुपर्ने बताउनुभयो । राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउन आवश्यक रहेको उहाँको भनाइ छ । 

कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेको जनाउँदै अर्थमन्त्री शर्माले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले कानुन निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरीकनै कानुन पास गरिदिँदा पनि अहिले समस्या निम्तिएको उल्लेख गर्दै सूक्ष्म अध्ययन गरेर कानुन निर्माण गर्नुपर्छ भन्नुभयो । 

बैठक मुख्यसचिव शङ्करदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी तथा विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिको सहभागितामा भएको थियो । 

बैठकमा वर्तमान खरिद कानुन, पुँजीगत खर्चको लक्ष्य प्राप्तिमा समस्या, निकायगत समन्वयको अवस्था तथा वित्तीय अनुशासनलगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button