तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने

काठमाडौँ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनुभएको हो ।

 राजदूतसँगको भेटवार्तापछि अब केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान हुने भएको छ ।

भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्यान्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुहुँदै लुम्बिनीमा रहेको मेटरनेटी हस्पिटलका लागि सहयोग गर्न आग्रह गर्नुभयो । 

यसैगरी, मन्त्री आलेले नेपाली नागरिकलाई थाईल्याण्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरू उपचारका लागि बैङ्कक जाँदा सहुलियत पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । 

भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल थाइल्याण्डको पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप मजबुद बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

भेटका क्रममा राजदूत भोरासफले लुम्बिनीको वृद्धि विकासका लागि आफ्ना तर्फबाट अधिकतम प्रयास गर्ने बताउनुभयो । 

यसैगरी, राजदूत भोरासफले नेपाल सरकारले गरेको सहयोग प्रति धन्यवाद प्रकट गर्नुभयो । 

उक्त भेटवार्तामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button