तपाईँ सुन्दै हुनुहुन्छः

अलैँचीको मूल्य बढ्यो, किसान–व्यवसायीलाई राहत

फाइल तस्बिर

भद्रपुर, झापा । ‘कालो सुन’ले परिचित कृषि वस्तु अलैँचीले तीन वर्षपछि केही सन्तोषजनक मूल्य पाएको छ । 

लगातार ओरालो लागेको मूल्यमा यस वर्ष वृद्धि हुन थालेपछि सम्बद्ध किसान–व्यवसायीले केही राहत महसुस गरेका छन् ।

यस वर्ष भारतीय बजारमा अलैँचीको माग उच्च रहेकाले नेपाली अलैँचीले राम्रो मूल्य पाएको बताइएको छ । 

भारतमा मात्रै होइन अन्तर्राष्ट्रिय बजार बङ्गलादेश र दुबईमा समेत अलैँचीको माग बढ्दो रहेकोले नेपाली अलैँचीको मूल्य बढ्दै जाने अनुमान व्यवसायीहरूले गरेका छन् ।

अलैँची किनबेच हुने यो मुख्य सिजनमा पछिल्लो तीन वर्षमा प्रतिमन २२ देखि ३० हजार रुपैयाँ सम्ममा किनबेच भएको थियो भने यस वर्ष प्रतिमन ४५ हजारमाथि किनबेच भइरहेको निर्यातकर्ता बिर्तामोडका निर्मल भट्टराईले बताउनुभयो ।

यस वर्ष गएका वर्षहरूको तुलनामा प्रतिमन २० हजार रुपैयाँभन्दा माथि मूल्य वृद्धि भएको र मूल्य बढ्ने क्रम जारी रहेको नेपाल अलैँची व्यवसायी महासङ्घ केन्द्रीय कार्यालय बिर्तामोडले जनाएको छ । 

कुल उत्पादनको आन्तरिक खपत २ प्रतिशत र ९८ प्रतिशत निर्यात हुने भएकाले अन्तर्राष्ट्रिय मागले नेपाली अलैँचीको मूल्य निर्धारण हुँदै आएको छ ।

मूल्य बढे पनि अहिले रोगले अलैँची बगान मासिँदा किसान समस्यामा परेका छन् । 

खेतीयोग्य जमिन मासेर अलैँची विस्तार गरेको भए पनि विभिन्न रोगका कारण उत्पादनमा कमी आएको किसानहरूको भनाइ छ । 

अलैँचीमा गानो कुहिने, छिर्केफुर्के, बगान डढ्ने, फूल कुहिनेजस्ता रोग लागेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button