चिच्याएर वर माग्ने सत्यवती मेला सुरु

पाल्पा । धार्मिक तथा ऐतिहासिक सत्यवती मेला सुरु भएको छ । अनौठो मानिने सत्यवतीमा चिच्याएर बर माग्ने प्रचलन रही आएको छ ।
रातको समय चिच्याएर बर माग्दा मनोकामना पूरा हुने विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा बर माग्नेको चहलपहल बढेको छ ।सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा सुरु भएको सत्यवती धार्मिक मेला बुधवारदेखि सुरु भएर शुक्रवारसम्म सञ्चालन हुनेछ ।
धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा महत्त्वपूर्ण रहेको यो मेलामा नेपाललगायत भारतीय क्षेत्रबाट समेत धार्मिक पर्यटकको ओइरो लागेको छ ।
रातको समय सत्यवती तालमा लिङ्गो गाडेर बिहान सोही लिङ्गो चिनेर पूजा गर्ने चलन छ ।सत्यवती बजैले कानले नसुन्ने भएपछि चिच्याएर बर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले बताउनुभयो । पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ । ताल परिक्रमा गरी मन्दिरमा पूजा गर्ने आउने चलन छ । मन्दिरमा बजैलाई पूजा गरेपछि टीका, चुरा, साडी चोलीसमेत चढाउने चलन छ ।
सत्यवती बजैको लागि परेवा र बाख्राको बलि दिने चलन पनि छ ।तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तीले यो रमणीय प्रकृति ताललाई पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने लक्ष्य लिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्