दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्ने सहमति

काठमाडौं ।भौतिक यातायात तथा पूर्वाधार मन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडक खण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताउनुभएको छ । कमल विनायक–नगरकोट सडक खण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उहाँहरू दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमत हुनुभएको छ ।
निर्माण व्यवसायी महासङ्घका पूर्व महासचिव रामशरण देउजाको समन्वयमा बुधबार सङ्घ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबिच भएको छलफलमा उक्त सडकलाई गम्भीरताका साथ लिएकाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो ।
निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०७०÷०७१ मा निर्माण सुरु गरेको उक्त सडक पटक–पटक म्याद थप गर्दै आएको र अहिले पुनः म्याद थप गरेको छ । पटक–पटक म्याद थप गरेर पनि आठ वर्षसम्म सडक निर्माण सम्पन्न नगरेको भन्र्दै स्थानीय बासिन्दा र होटेल व्यवसायीले छिटो सडक निर्माण सम्पन्न गर्न माग गर्दै आन्दोलन समिति नै बनाएका छन् ।
मन्त्री भँडेलले सडकको अवस्था र स्थानीयवासीको आक्रोशका बारेमा मन्त्री यादवलाई जानकारी गराउँदै छिटो सडक निर्माण सम्पन्न गराउन पहल गरिदिन आग्रह गर्नुभएको समन्वयकर्ता एवं महासङ्घका पूर्व महासचिव देउजाले जानकारी दिनुभयो । छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक गुणस्तर बन्न नसकेको र कालोपत्रे पनि एक कोड मात्र भएकाले दोहोरो कोड गर्नुपर्ने आवश्यकता रहेको जानकारी गराउनुभएको थियो ।
आगामी दुई महिनाभित्र कम्पनीले सडक निर्माण सम्पन्न गरेमा सडकको प्रत्येक मोडमोडमा गुणस्तरीय कालोपत्रे गरेर टिकाउ बनाउन मन्त्रालयले बजेट विनियोजन गर्नेबारेमा समेत छलफल भएको छ । मन्त्री यादव त्यसमा सकारात्मक भएको देउजाले जानकारी दिनुभयो । छलफलमा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडकको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
गत कात्तिक २८ गते उक्त सडकको निरीक्षण गर्दै नगरकोट पुगेर फर्कनुभएको मन्त्री यावदसहितको टोलीलाई नगरकोट सडक सङ्घर्ष समितिका संयोजक राजकुमार लामिछानेको नेतृत्वमा स्थानीयले मन्त्री यादवको गाडी रोकेर सडक छिटो निर्माण सम्पन्न गराइदिन माग गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्