तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चमा आज तीन वटा इजलास, बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा आज तीन वटा इजलास मात्र बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ भएको छ । 

न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालका लागि तोकिएको दुई संयुक्त इजलासमा र न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको अर्को एक संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ भएको हो । 

तीन वटै इजलासले दुई÷दुई वटा मुद्दाको सुनुवाइ गरेका छन् ।

आजका लागि तोकिएका दश इजलासमध्ये तीन वटामा नियमित सुनुवाइ भए पनि अन्य दुई इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दामा मात्र सुनुवाइ भएको हो । 

न्यायाधीशहरू इजलासमा बस्न इन्कार गरेका कारण अरू ५ वटा इजलास भने आज पनि बस्न सकेन । 

प्रधानन्यायाधीश जबराले आज आफूलाई इजलासबाट अलग गर्दै १० इजलासमा कुल १ सय ८८ मुद्दाको पेसी तोक्नुभएको थियो । तीमध्ये आज ८ वटा मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरूले तीन सातायता बन्दी प्रत्यक्षीकरण मुद्दाबाहेक अन्य मुद्दा हेर्न इन्कार गर्दै आएका थिए । जसमध्ये चार न्यायाधीश भने इजलास फर्किएर नियमित सुनुवाइ थालेका छन् भने अरू न्यायाधीशको अडान यथावतै छ । 

यसैबिच, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । 

केही दिनयता बहस पैरवीसमेत रोकेर आन्दोलनमा उत्रिएको बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी रहने जनाएको छ । 

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन तीन सातायता आन्दोलनमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button