तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय पाँचथरमा टोकनका आधारमा सेवा प्रदान

पाँचथर । पाँचथर सेवाग्राहीको चाप थेग्नै नसक्ने गरी बढेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले मङ्गलवारदेखि टोकनका आधारमा सेवा दिन थालेको छ ।

भीड व्यवस्थित गर्दै पहिले आउने सेवाग्राहीलाई पहिले सेवा दिने उद्देश्यले टोकनका आधारमा सेवा दिन थालिएको प्रशासन कार्यालयका कर्मचारीहरूले जनाएका छन् ।

दसैँ तिहार बिदा हुनुभन्दा महिनौँ अघिदेखि कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रायः सुनसान रहेको उक्त कार्यालयमा अहिले दैनिक १ सयको हाराहारीमा नागरिकता र ४० को हाराहारीमा राहदानी बनाउन आउनेहरू छन् । 

यसबाहेक अन्य सबै खाले सेवा लिन आउनेहरूको सङ्ख्या पनि पछिल्लो समय अत्यधिक बढेपछि टोकन सेवा सुरु गरिएको बताइएको छ ।

हरेक दिन सेवाग्राहीको सङ्ख्या ४ सय नाघ्ने गरेकोले भीड व्यवस्थित गर्नका लागि टोकनका आधारमा सेवा दिन थालेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

सेवा लिन आउने नागरिकलाई कार्यालयले प्रवेश गर्नासाथ टोकन उपलब्ध गराएर सोही नम्बरका आधारमा काम सकेर पठाउने व्यवस्था मिलाइएको छ ।

कार्यालयले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवाग्राहीलाई मास्क अनिवार्य लगाउन भने पनि भौतिक दूरी भने कायम गराउन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button