मेचीका चार सर्वोत्कृष्ट करदाता सम्मानित

भद्रपुर, झापा । साबिक मेची अञ्चलको चार जिल्लाका सर्वाधिक करदाता झापामा सम्मानित भएका छन् ।
दशौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय भद्रपुरले आज बिर्तामोडमा आयोजित उक्त समारोहका बीच झापा, इलाम, पाँचथर र ताप्लेजुङका एक–एक वटा सर्वाधिक करदाता प्रतिष्ठानलाई सम्मान गरेको हो ।
झापाबाट सर्वाधिक करदाताका रुपमा भद्रपुरको साहेवाला ट्रेडिङ प्रा.लि., इलामबाट फिक्कल उत्तम स्टोर, पाँचथरबाट जय अम्बे ट्रेडर्स एण्ड सप्लायर्स र ताप्लेजुङबाट सलिना सप्लायर्स सम्मानित भएका हुन् ।
कर दिवसको अवसरमा बिर्तामोडको मुक्तिचोक परिसरमा आयोजित समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ती प्रतिष्ठानका सञ्चालकहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
साहेवाला ट्रेडिङका तर्फबाट सञ्चालक अजय साहेवाला, फिक्कल उत्तम स्टोरका तर्फबाट सञ्चालक उत्तम श्रेष्ठ, जय अम्बेका तर्फबाट राजन काफ्ले र सलिना सप्लायर्सका तर्फबाट तीलमाया भट्टराईले सम्मान ग्रहण गर्नुभएको थियो ।
आन्तरिक राजश्व कार्यालय भद्रपुरको सेवा क्षेत्र साबिक मेची अञ्चलका चार जिल्ला रहेका छन् ।
आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभ प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न समारोहलाई सम्बोधन गर्दै प्रमुखअतिथि ढकालले नेपालको राजश्व आयातमा निर्भर रहेकोले आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई बढाउन र आन्तरिक करको दायरा बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
समारोहअघि उद्योगी–व्यववसायीहरुको संलग्नतामा बिर्तामोडमा प्रभात फेरी निकालिएको समारोहको सहआयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्