नेपालकै ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा

काठमाडौँ । नेपाली आर्थिक पत्रकारिता जगतको उत्थानका लागि अहिले सम्मको सबैभन्दा ठूलो रकमको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ ।
नेपालका आर्थिक पत्रकारहरूको संस्था नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले बुधवार काठमाडौँमा एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले बैङ्किङ तथा बिमा विज्ञ एवम् महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा हरेक वर्ष आफ्नो वार्षिकोत्सव दिन ‘शारदादेवी/ढुण्डिराज–नाफिज आर्थिक पत्रकारिता पुरस्कार नामबाट पुरस्कार प्रदान गरेको छ ।
लामो समय पत्रकारिता गरेर बैङ्किङ तथा बिमा क्षेत्रमा काम गर्दै आउनुभएका रमेशकुमार भट्टराईले आफ्ना बुबा आमाको सम्झनामा सो पुरस्कार स्थापनाका लागि नाफिजसँग सहकार्य गर्नुभएको हो ।
पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रहने गरी नेपाल आर्थिक पत्रकार सङ्घलाई रकम उपलब्ध गराउनुभएको छ ।
पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधवार नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष मोदनाथ ढकाल र दाता रमेशकुमार भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि अक्षय कोषमा रहने गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
सोही रकमको ब्याजबापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाई छनौट गरी पुरस्कृत गरिने छ ।
कार्यक्रममा रमेशकुमार भट्टराईले पूजनीय बुवा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर पुरस्कारको स्थापना भएकोले त्यसले नेपाली आर्थिक पत्रकारितामा संलग्नहरूको लेखन वृत्तिका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको बताउनुभयो ।
उहाँले नेपालमा आर्थिक पत्रकारिताको जग बलियो बनाउन आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारहरूको सङ्ख्या र गुणस्तर दुवै बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले एक लाख राशिको आर्थिक पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गर्न पाउँदा खुसी लागेको र यसले आर्थिक पत्रकारहरूलाई आफ्नो क्षेत्रमा थप मेहनतका साथ क्रियाशील हुन प्रेरित गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्