तपाईँ सुन्दै हुनुहुन्छः

यथाशीघ्र निकास निकाल्नुपर्नेमा राजनीतिक समन्वय समितिको जोड

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बसेको बैठकले सर्वोच्च अदालतमा केही समयदेखि देखिएको समस्या र गतिरोधप्रति गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको भन्दै यथाशीघ्र निकास निकाल्नुपर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सर्वोच्चको समस्याको निकास दिने यस प्रयासमा सबैको सहयोग हुने गठबन्धनको विश्वास रहेको बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितीमा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा गर्दै संविधानको कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धनमा जोड दिइएको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ५ दलीय गठबन्धनले सत्ता सम्हालेपछि मुलुकमा राजनीतिक स्थिरता देखिएको, कोभिड १९ विरुद्धको भ्याक्सिन अभियानले तीव्रता पाएको र राजनीति सही लिकमा आएको निष्कर्ष निकालेको छ ।

जनतालाई छिटोछरितो सेवा प्रवाह र विकासलाई तीव्रता दिनु नै गठबन्धनको मूलमन्त्र रहेको र सोही अनुसार सरकार अगाडी बढ्नुपर्नेमा बैठकमा जोड दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button