ग्याँसको मूल्य वृद्धि भएपछि विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्युतीय चुलो (इन्डक्शन) जडानको काम सुरु गरेको छ । ग्याँसको मूल्य वृद्धि भइरहेका बेला पालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा पालिकाभित्र विद्युतीय चुलो जडान गरेको हो ।
वातावरणीय पर्यावरणमैत्री समेत रहने र नेपालमा विद्युत् उत्पादनमा वृद्धि भइरहेका बेला नेपालमै विद्युत् खपत बढाउने उद्देश्यले पनि पालिकाले वैकल्पिक केन्द्रसँग समन्वय गरेर चुल्हो जडान शुरु गरेको हो । झण्डै ५ हजार पर्ने चुल्हो वैकल्पिक ऊर्जाले ६० प्रतिशत र पालिकाले २० प्रतिशत बेर्होने छ भने उपभोक्ताले मूल्यको २० प्रतिशत अर्थात् १ हजार ३० रुपैयाँमा विद्युतीय चुल्हो जडान गर्न पाउनेछन् ।
पालिकाले सूचना निकालेर इच्छुक उपभोक्तालाई निवेदन माग गरेको थियो । मागको आधारमा चुल्हो जडान शुरु गरिएको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । चुल्हो जडानका लागी ३७५ जनाले आवेदन दिएका थिए । आवेदनका आधारमा घरघरमा प्राविधिक पठाउने र चुल्हो जडान कार्य शुरु भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा प्रायजसो थोरै क्षमताको विद्युत् जडान हुँदै आएको छ । पालिकाले प्राविधिक पठाएर विद्युतीय क्षमता कति छ जाँच गर्ने र कम भएकाहरूमा बढाउने र चुल्हो जडान गर्ने गरेको पालिकाले जनाएको छ । स्वास्थ्यका हिसाबले समेत विद्युतीय चुल्हो लाभदायक हुने भएकाले उपभोक्तालाई विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन दिइएको पालिकाको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्