तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव माओवादीका जिल्ला अध्यक्ष पौडेल सहित ११ जना बन्दकर्ता पक्राउ

चितवन । चितवनमा बन्द गराउँदै हिँड्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराउन खोज्ने ९ जना र बाइपास सडकमा टायर बाल्न खोज्ने २ जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको हो। पक्राउ पर्नेमा बन्दको आह्वान गर्ने विप्लव माओवादीका जिल्ला अध्यक्ष सन्देश पौडेललगायतका नेता कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

‘गाडीको जबरजस्ती चाबी खोस्न खोज्ने नौ जनालाई नारायणगढ लायन्सचोकबाट पक्राउ गरेका हौँ । अरू दुई जना भने बाइपास रोडमा टायर बाल्न खोज्ने व्यक्ति हुन’ चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले भन्नुभयो ।

खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आह्वान गरेको नेपाल बन्दको कारण चितवनमा सामान्य प्रभाव परेको छ । बजारमा अधिकांश पसलहरू बन्द भएका छन् । मालबहाक र लामो दुरीका गाडीहरू छिटपुट चलेका छन् ।

मोटरसाइकल र अटोलगायतका साना सवारीसाधन निर्वाध रुपमा चलेका छन् । केही यात्रुहरू हिँडेरै आफ्नो गन्तव्यतर्फ लागि रहेका छन् । शैक्षिक संस्थाहरू बन्द भएका छन् । जिल्लामा अहिले बन्दको प्रभाव सामान्य रहेको प्रहरीले जनाएको छ ।

आज बन्द आह्वान गरिए पनि सबै सरकारी कार्यालयहरू खुल्ने चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो । ‘सरकारी कार्यालयहरू हिजो अस्तिजस्तै आज पनि खुल्छन्। केहीले स्वतस्फूर्त रुपमा गाडी चलाउनुभएको छैन। राजमार्ग अवरुद्ध गर्न खोज्ने र टायर बाल्न खोज्नेलाई आज बिहान नियन्त्रणमा लिएका छौँ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button