तपाईँ सुन्दै हुनुहुन्छः

उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयका बारेमा अन्तरक्रिया

अछाम । सुदूरपश्चिम प्रदेशको प्रदेश विश्वविद्यालय तथा उच्चशिक्षा सम्बन्धी कार्यदलले उच्चशिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयका बारेमा अछामका शिक्षा क्षेत्रका सरोकारवाला तथा राजनीतिक दलका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ ।

उच्चशिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि सरोकारवाला सबैको धारणा सङ्कलन गरेको छ । मङ्गलसेनमा भएको अन्तरक्रिया कार्यक्रमका सबै सहभागीले यसको उद्देश्य सहित आगामी औचित्यको बारेमा जिज्ञासा र सुझाव राखेका छन् । कार्यदल संयोजक डाक्टर खेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले शिक्षा क्षेत्रको परिवर्तनको लागि आफू जहिले पनि लागिपरेको बताउनु भयो ।

सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका लागि तराईको क्षेत्र मात्र नभएर पहाडी क्षेत्र समेत अग्रसर हुने भएकाले सबैले सोच्नु पर्ने बताउनुभयो । अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर विष्टले उच्च शिक्षा आजको आवश्यकता भएकाले सबैको चासो सहित कार्यान्वयनको विषय भएको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाको जवाफ संयोजक जोशीले दिनु भएको थियो । कार्यदलले यसअघि कैलाली जिल्लाको टिकापुरमा पहिलो अन्तरक्रिया गरेको थियो भने अछाममा दोस्रो छलफल हो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, अछामका सबै क्याम्पसका अध्यक्ष तथा प्रमुख, शिक्षक सङ्घ, सङ्घटनका प्रतिनिधि, उच्च विद्यालयका शिक्षकको सहभागिता रहेको थियो ।

छलफलको सहजीकरण कार्यदलका सदस्य डाक्टर कवीन्द्र प्रसाद चन्द र चक्रराज अधिकारीले गर्नु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button