मन्त्री आले र इजरायलका राजदूत शिष्टाचार भेटवार्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत खनान गोदेरले साेमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा केन्द्रित रहेको थियो ।
मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँबीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिनुभयो ।
सोही क्रममा राजदूत गोदेरले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक रहेको जानकारी दिनुभयो । सो अवसरमा मन्त्री आलेसँग राजदूत गोदेरले दुई हप्ताभित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको भाडामा लिन इच्छुक रहेको बताउनुभयो ।
यसैगरी राजदूत गोदेरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गर्नुभएको थियो ।
राजदूत गोदरसँग मन्त्री आलेले नेपाल र इजरायलबीच सिधा हवाई सम्पर्कका लागि आफूहरु तयार रहेको बताउनुभएको थियो ।
नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हर्वाइ भाडादर घटाउन पहल गर्ने मन्त्री आलेले राजदूत गोदरलाई आश्वासन दिनुभयो ।
भेटवार्ताकै क्रममा राजदूत गोदेरले गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिल्म हेर्न मिल्ने प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेटको इजरायलको फिल्म हेर्ने कार्यक्रमको प्रमुख आतित्थ्यका लागि मन्त्री आलेलाई निमन्त्रणसमेत गर्नुभयो ।
भेटकै क्रममा मन्त्री आलेले नेपालको विविधि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाई दिन वा जिटुजीमार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदूत गोदरसँग आग्रह गर्नुभयो । सो विषयमा राजदूत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्