तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उद्देश्य अनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई निर्देशन दिनु भएको छ ।
राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौँमा आज भएको आयोगको कार्य योजना तथा कार्यपत्र प्रस्तुति कार्यक्रममा मन्त्री श्रेष्ठले यस अघिका आयोगहरूले गरेका कामहरूलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्ने गरी योजनाबद्ध रुपमा लाग्न आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अव ढिलाइ गर्न नहुने भन्दै प्रभावकारी रुपमा काम गर्ने गरी योजना र कार्यविधि बनाउन निर्देशन समेत दिनुभयो ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्य योजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन्न गर्ने गरी अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डे, नापी विभागका महानिर्देशक प्रकाश जोशी र राष्ट्रिय भूमि आयोगका पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्