तपाईँ सुन्दै हुनुहुन्छः

छरितो सेवा प्रवाह गर्न मुख्यमन्त्रीको निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई छिटो तथा छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्न निर्देशन दिनुभयो । 

सरकारले कर्मचारीहरूलाई विभिन्न तालिमहरू दिने गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । 

राजनीतिक परिवर्तनसँग सरकारको नेतृत्व फेरबदल भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले गुनासो नआउने गरी प्रभावकारी काम गर्न मुख्यमन्त्री पोखरेलले  कर्मचारीलाई आग्रह गर्नुभयो ।

१ सय २० जनालाई यो तालिम प्रदान गरिनेछ । तालिममा ११ जिल्लाका सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button