तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बारलाई संवादका लागि प्रधानन्यायाधीशको आव्हान

काठमाडौँ । सर्वोच्चका न्यायाधीशहरूले अघोषित रुपमा इजलास बहिस्कारलाई जारी राखेका कारण आज पनि मुद्दाको सुनुवाइ प्रभावित भएको छ । 

न्यायधीशहरुले इजलास बहिस्कार जारी राखेका कारण आज सर्वोच्चमा १० मध्ये ४ वटा इजलासमा मात्र मुद्दाको सुनुवाइ भयो । 

सर्वोच्चले आजका लागि पेशी तोकेका २ सय ९८ मुद्दामध्ये आज ३ वटा बन्दी प्रत्यक्षीकरणसहित ७ वटा मुद्दामा मात्र सुनुवाइ भएको छ । 

आज कानुन व्यवसायीका कारण एउटा इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दा स्थगित भएको छ भने अन्य तीन इजलासमा एक/एक गरी तीन वटा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ भएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेशी तोकिएका ५ वटा मुद्दामध्ये ४ वटाको सुनुवाइ भएको छ भने एउटा हेर्न नमिल्नेमा परेको छ ।  

प्रधानन्यायाधीश जबराले यसअघि दुई दिन आफूलाई इजलासमा नराखे पनि आज भने आफ्नो समेत इजलासमा राख्नुभएको थियो । 

यसैबिच, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनलाई संवादमा आउन आव्हान गर्नुभएको छ । 

प्रधानन्यायाधीश जबराले विज्ञप्ति मार्फत वर्तमान गतिरोध अन्त्यका लागि संवादमा आउन नेपाल बारलाई आग्रह गर्नुभएको हो । 

फाइल तस्बिर

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयनमा अग्रसरता लिने आफू तयार रहेको पनि प्रधानन्यायाधीश जबराले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । 

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले राजीनामा मागेको व्यक्तिसँग वार्तामा नबस्ने भन्दै राजीनामाको अर्को विकल्प नरहेको बताउनुभएको छ । 

सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर विरोधमा उत्रिएको बारले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । 

आन्दोलनलाई देशव्यापी बनाएको नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेल आन्दोलन जारी रहने जनाएको छ । बारको ९० वटै इकाईमा धर्नाको कार्यक्रम राखेको बारले उपत्यकाको आन्दोलनलाई सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित बनाएको छ ।

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन तीन साता यता आन्दोलनमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button