तपाईँ सुन्दै हुनुहुन्छः

छठमा फालिएको फोहर उठ्न सकेनन्, नगर फोहर बन्दै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका कतिपय ठाउँको फोहर नगरपालिकाले नउठाउँदा नगर क्षेत्रका कतिपय भाग फोहर तथा दुर्गन्धित बनेको छ ।

जनकपुरधामको मुटुमा रहेको जानकी मन्दिरको पूर्वको प्रवेशद्वारमा छठ पर्व अगाडी फालिएको फोहर नउठेपछि बाहिरबाट आएका पर्यटकहरूमा नकारात्मक प्रभाव परिरहेको स्थानीयबासीले जनाएका छन् । 

धार्मिक तथा ऐतिहासिक महत्त्वको जनकपुरधामको फोहर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल साइट नभएका कारणले फोहर व्यवस्थापनमा समस्या भइरहेको जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

जनकपुरधामको प्रमुख स्थानको रुपमा रहेको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, विवाह मण्डप क्षेत्र वरपर नै फोहर देखिनु निक्कै दुर्भाग्यको कुरा रहेको स्थानीय बासी अमर श्रीवास्तवको धारणा छ । कम्तीमा यो क्षेत्रलाई सफा र सुन्दर राख्नेतर्फ नगरपालिकाले विशेष ध्यान दिनका लागि उहाँले सुझाव दिनुभयो ।

एसियाली विकास बैङ्कको ऋण सहयोगमा जनकपुरधामको सडक तथा ढलको निर्माण भए पनि फोहर व्यवस्थापनका लागि ४४ करोड रकम भए पनि ल्यान्ड फिलका लागि जग्गा नभएर उक्त रकम फिर्ता भएपछि फोहरको व्यवस्थापनमा थप समस्या भएको छ । अहिले नगरको फोहर नगरको अतिथि गृहमा राख्ने काम भएको छ ।

फोहरको विषयमा वडाध्यक्षहरूले नगर प्रमुखको विरोध गर्दै निवास अगाडी फोहर फाले पनि व्यवस्थापनमा खासै सुधार नआएको वडा नंं ३ का वडाध्यक्ष दीपेन्द्र साहको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button