तनहुँ जलविद्युत आयोजनाको काम समयमा नै सम्पन्न गर्न निर्देशन

तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ जलविद्युत आयोजनको काम समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आइतबार स्थलगत अवलोकनका लागि आयोजनास्थल तनहुँ आउनुभएका कार्यकारी निर्देशक घिसिङले दीर्घकालीन महत्त्वका आयोजना निर्माणमा ढिलाइ हुन नहुने बताउनुभयो ।
उहाँले हालसम्म आयोजनाले गरेको निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्याम लगायतको भौतिक प्रगतिको बारेमा समेत जानकारी लिनुभएको आयोजनाले जनाएको छ ।
कार्यकारी निर्देशक घिसिङले आयोजनामा कार्यरत रहेका कर्मचारी र मजदुरलाई निर्देशन दिँदै टिममा मिलेर काम गर्न सके तोकिएको समयमा काम सम्पन्न गर्ने गाह्रो नहुने बताउनुभयो ।
उहाँले कुनै समस्या भए आयोजनाका प्रबन्ध सञ्चालक वा आयोजना प्रमुख समक्ष राख्न पनि आग्रह गर्नुभयो ।
कार्यकारी निर्देशक घिसिङले केवल जागिर खानकै लागि नभै परिणाम आउने गरी काम गर्नुपर्ने बताउनुभयो । “धेरै विदेशी संस्थाहरूले लगानी गरेको आयोजनामा काम गर्न पाउनु तपाईँहरूका लागि महान् अवसर हो, यो अरू आयोजनामा पनि काम लाग्छ”, कार्यकारी निर्देशक घिसिङलाई उद्धृत गर्दै आयोजनाका वरिष्ठ प्रशासकीय अधिकृत भोला शर्माले भन्नुभयो ।
कार्यकारी निर्देशक घिसिङ तनहुँ जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख अच्युतबाबु घिमिरेसहित प्राधिकरण उच्च अधिकारीका साथ आयोजनामा भइरहेको कामको प्रगति बारे जानकारी लिन आउनुभएको थियो ।

तनहुँ जलविद्युत आयोजनामा ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
तनहुँमा निर्माणाधीन यस जलविद्युत् आयोजना १४० मेगावाट क्षमताको रहेको छ ।
वि.सं. २०६२ सालमा पहिचान भएको र वर्षैभरि १४० मेगावाट विद्युत् उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको लम्बाई करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर रहेको छ ।
तनहुँ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् २२० केभी को डवल सर्किटबाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुरस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।








प्रतिक्रिया राख्नुहोस्