तपाईँ सुन्दै हुनुहुन्छः

चालक अनुमति पत्रका लागि आवेदन दिन तीन सातामा चार लाख

काठमाडौँ । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमति पत्र भर्नेको सङ्ख्या तीन सातामा नै झन्डै चार लाख पुगेको छ ।

यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो । दुई वर्षयता नियमित रुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ ।

कात्तिकभन्दा पहिलेसम्म झन्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झन्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । 

कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमित रुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिक रुपमा नयाँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा भुसालले बताउनुभयो । 

कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनः खुलाइएको भए पनि बीचमा झन्डै चार दिन अवरुद्ध भएको थियो । एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताउनुभयो । 

गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उहाँले भन्नुभयो, “अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन ।”

विसं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमति पत्रको परीक्षा रोकिएको थियो । 

गत वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि सङ्क्रमण पुनः बढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमित रुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button