तपाईँ सुन्दै हुनुहुन्छः

होङ्शी सिमेन्ट उद्योगमा राष्ट्रिय प्रसारणको विद्युत् लाइन पुग्यो

काठमाडौँ । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्ट उद्योगमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सब स्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिवारबाट विद्युत् आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सब स्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उप कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ लगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिएको हो ।

होङ्शीले ३० मेगावाट विद्युत् खपत गर्नेछ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिने उद्योगले जनाएको छ ।  
विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनरेटरमार्फत विद्युत् आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ ।

मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरूले मागे जति विद्युत् दिइरहेको, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सब स्टेसनहरूको क्षमता बढाउने, सुदृढीकरण गर्ने लगायतका काम अभियानकै रुपमा चलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button