तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसी टी २० विश्वकप फाइनल: अस्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आइसिसी टी २० विश्वकप २०२१ को फाइनलमा आज अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । 

खेल नेपाली समय अनुसार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुका ७:४५ मा सुरु हुनेछ । अस्ट्रेलिया र न्युजिल्यान्ड दुवै पहिलो पटक टी २० विश्वकप उपाधि जित्ने सोचमा छन् ।

सेमिफाइनलमा दुवै टोलीले बलिया तथा उपाधिका दाबेदार प्रतिद्वन्दीलाई स्तब्ध पार्दै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । 

दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्ड पहिलो विश्वकप उपाधि जित्ने सोचमा छ । 

ओडिआईमा पाँच विश्वकप जितेको अस्ट्रेलिया टी २० विश्वकपमा पहिलो उपाधि हात पार्न चाहन्छ । अस्ट्रेलिया दोस्रो पटक टी २० विश्वकप फाइनल खेल्दै छ । सन् २०१० को टी २० विश्वकप फाइनलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । 

न्युजिल्यान्ड पहिलो फाइनलमै च्याम्पियन बन्ने सोचमा छ । न्युजिल्यान्ड सुपर १२ को समूह २ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अङ्कका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । 

अस्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेलेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button