तपाईँ सुन्दै हुनुहुन्छः

देशव्यापी विरोधका कारण आज पनि सुनुवाइ प्रभावित

काठमाडौँ । सर्वोच्चका न्यायाधीशहरूले अघोषित रुपमा इजलास बहिस्कारलाई जारी राखेका कारण आज पनि मुद्दाको सुनुवाइ प्रभावित भएको छ । 

न्यायाधीशहरुले इजलास बहिस्कार जारी राखेका कारण आज सर्वोच्चमा १० मध्ये २ वटा इजलासमा मात्र मुद्दाको सुनुवाइ भयो । 

सर्वोच्चमा पेशी तोकिएका २ सय ७२ मुद्दामध्ये आज २ वटा बन्दी प्रत्यक्षीकरणसहित ४ वटा मुद्दामा मात्र सुनुवाइ भएको छ । 

आजका लागि गठन गरिएका १० मध्ये ६ वटा इजलास न्यायाधीश इजलासमा बस्न इन्कार गरेको कारण, एउटा कानुन व्यवसायीका कारण र अर्को एउटा इजलास समय अभावका कारण बस्न सकेन । 

प्रधानन्यायाधीश जबराले यसअघि आफ्नो समेत इजलास राख्दै आउनु भए पनि  शुक्रवार र आज भने आफूलाई इजलासबाट अलग राख्नुभएको थियो ।

यसैबिच, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर निरन्तर विरोधमा उत्रिएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाएको छ । 

बारले मूल गेटमा धर्ना कार्यक्रम राखेर प्रवेश गर्न रोकेपछि प्रधानन्यायाधीश जबरा आज पनि अर्को गेट प्रयोग गरी सर्वोच्च प्रवेश गर्नुभएको थियो । 

कानुन व्यवसायी सर्वोच्च परिसरभित्र धर्नामा बसिरहेका बेला आज मोटरसाइकलमा आएका केही युवाहरूले गेटबाहिर नाराबाजी गरेका थिए । 

सर्वोच्च अदालतको गेटबाहिर कानुन व्यवसायीको आन्दोलनका विरुद्धमा नाराबाजी गरेपछि ती युवाहरूलाई प्रहरीले पक्राउ गरेको थियो । 

नेपाल बारले नेपालको राष्ट्रिय झन्डाको दुरुपयोग गर्दै बारको आन्दोलनलाई निस्तेज गर्न केही मान्छेलाई प्रयोग गर्न थालिएको भन्दै त्यसको निन्दा गरेको छ । 

File photo

कानुन व्यवसायीको आन्दोलनमा बिहीबार प्रहरीले हस्तक्षेप गरेपछि त्यसको विरोधमा नेपाल बारले बन्दी प्रत्यक्षीकरणसहित कुनै पनि मुद्दाका बहस नगर्ने यसअघि नै घोषणा गरिसकेको छ । 

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै धर्ना र विरोधमा उत्रिएको नेपाल बारले आजदेखि आन्दोलनलाई देशव्यापी बनाएको छ । प्रधानन्यायाधीशको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी रहने जनाएको बारले सोमबारदेखि उपत्यकाको आन्दोलनलाई सर्वोच्च अदालत केन्द्रित गर्ने पनि जनाएको छ ।

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन तीन साता यता आन्दोलनमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button