न्यायाधीशहरूको अघोषित इजलास बहिस्कार र नेपाल बारको देशव्यापी विरोधका कारण आज पनि सुनुवाइ प्रभावित

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले निरन्तर इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आजका लागि आफू बाहेकका १० वटा इजलास तोक्नुभएको छ ।
प्रधानन्यायाधीश जबराले आजकाका लागि १० वटा इजलासमा सुनुवाइका लागि २ सय ७२ मुद्दाको पेशी तोक्नुभएको छ ।
प्रधानन्यायाधीश जबराले यसअघि आफ्नो समेत इजलास राख्दै आउनुभएकोमा शुक्रवारदेखि आफूलाई इजलासबाट अलग राख्नुभएको छ ।
यसैबीच, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर निरन्तर विरोधमा उत्रिएको नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिँदै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई अदालत प्रवेशमा रोक लगाएको छ ।
बारले मूल गेटमा धर्ना कार्यक्रम राखेर प्रवेश गर्न नदिएपछि प्रधानन्यायाधीश जबरा आज पनि अर्को गेट प्रयोग गरी सर्वोच्च प्रवेश गर्नुभएको छ ।
नेपाल बारको आव्हानमा सर्वोच्चको गेटभित्र कानुन व्यवसायी धर्नामा बसिरहेका बेला नेपालको झण्डासहित मोटरसाइकलमा आएका केही युवाहरूले गेटबाहिर नाराबाजी गरेको थिए ।
सर्वोच्च अदालतको गेटबाहिर कानुन व्यवसायीको आन्दोलनका विरुद्धमा नाराबाजी भएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
नेपाल बारले नेपालको झण्डाको दुरुपयोग गर्दै बारको आन्दोलनलाई निस्तेज गर्न केही मान्छेलाई प्रयोग गर्न थालिएको भन्दै त्यसको निन्दा गरेको छ ।
सर्वोच्च परिसरमा बिहीबार कानुन व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेपछि त्यसको विरोधमा नेपाल बारले बन्दी प्रत्यक्षीकरणसहित कुनै पनि मुद्दाका बहस नगर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउँदै निरन्तर धर्ना र विरोधमा उत्रिएको नेपाल बारले आजदेखि आन्दोलनलाई देशव्यापी बनाएको छ ।
दैनिक दुई घण्टा अदालत परिसरका धर्ना दिँदै आएको बारले प्रधानन्यायाधीशको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी रहने जनाएको छ ।
प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन तीन सातायता आन्दोलनमा छन् ।








प्रतिक्रिया राख्नुहोस्