लुङ्ग्रीखोलामा पक्की पुल बन्दा स्थानीयवासी दङ्ग

रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ छिर्ने र कोइरालखर्क जोड्ने लुङ्ग्री खोलामा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
सडक पूर्वाधार विकास कार्यालय रोल्पा मार्फत पुल बनेपछि विगत १० वर्षदेखि पक्की पुलको माग गर्दै आएका स्थानीयको माग सम्बोधन भएको हो । उक्त पक्की पुल गएको असारमा निर्माण सम्पन्न भएको थियो ।
करीव ६ करोड ६३ लाख २९ हजार रुपैयाँमा बनेको पुलको लम्बाई ५२ मिटर र चौडाइ ८ मिटर रहेको छ । पुल निर्माणको जिम्मा २०७६ भदौमा एशियाटिक राजविर आँसु जेभीले पाएको थियो । सम्झौता बमोजिम २०७८ भदौमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम २ महिना अघि नै सम्पन्न गरेको हो ।
सुलीचौरको छिर्नेदेखि कोइरालखर्क हुँदै प्युठान जोड्न सडकमा पुल बनेपछि त्यस क्षेत्रका स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । यसअघि वर्षमा ६ महिना हिउँदको समयमा मात्र गाडी चल्ने गर्दथे । खोला ठुलो हुने हुँदा बर्खा सुरुनहुदै जेठ महिनादेखि यस क्षेत्रमा गाडी चल्न पाउँदैन थियो ।
पुलबनेसँगै अहिले १२ महिना नै वारपार गर्न सजिलो भएको स्थानीय बताउँछन् । बिरामी हुँदा र खाद्यान्न ढुवानी गर्न मात्र सहज भएको छैन वर्षौँ देखिको खोला तर्ने समस्याबाट मुक्त भइयो स्थानीयवासीले भने ।








प्रतिक्रिया राख्नुहोस्