रौतहटमा भारतीय नम्बरको कार दुर्घटना : ४ जनाको मृत्यु

वीरगज । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार शनिबार राति दुर्घटना हुँदा त्यसमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको छ ।
गौर–चन्द्रनिगाहपुर सडकखण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृत्यु हुनेहरू मध्ये दुई जना भारतको बिहार बखरी बेतौना भन्ने गाउँका अरुण साह र दिनानाथ साह रहेका छन् भने अन्य दुई जनाको सनाखत भएको छैन ।
राति करिब सवा १० बजेको समयमा यू.के.१२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोल पम्प नजिक तीव्र गतिमा आइरहेको बेला अनियन्त्रित भई सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो ।
त्यसपछि कारभित्र रहेका चारै जना बाहिर निस्कन पाएनन् । कारको सबै भाग पानीमा डुबेपछि भित्रका मानिसहरू निसास्सिएर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले बताउनुभयो ।

दुर्घटनाको केही समयपछि नहर नजिकै नियमित ड्युटीमा रहेको प्रहरीले दुर्घटनाको खबर थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट समेत थप मद्दत मागेर घटनास्थल पुगेर कारको सिसा फुटाएर भित्र रहेकाहरूलाई निकालिएको घिमिरेले बताउनुभयो ।
मृतक चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । दुर्घटनामा परेको कारलाई क्रेनको सहायताले राति नै पानीबाट निकालेर जिल्ला प्रहरी लगिएको छ । मृत्यु हुनेमा २० देखि २५ वर्षका युवा पुरुष रहेका छन् । शनिबार राति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको एसपी घिमिरेले बताउनुभयो ।
भारत बिहारमा मदिरा माथि प्रतिबन्ध लगाएकाले सीमावर्ती भारतीय बजारका मानिसहरू मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन् ।
चन्द्रनिगाहपुरबाट अत्यधिक मदिरा सेवन गरेर भारततर्फ फर्किनेक्रममा उक्त दुर्घटना भई चारैजनाको ज्यान गएको हुनसक्ने स्थानीयहरूले अनुमान गरेका छ ।केहिदिन अघि मात्र बारा पथलैयाबाट मदिरा सेवन गरी फर्किनेक्रममा कार र टिपर एक आपसमा ठोकिँदा ३ जना भारत रक्सौलका युवाहरूको ज्यान गएको थियो ।









प्रतिक्रिया राख्नुहोस्