सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकमाथि सुझाव सङ्कलन गरिँदै

जुम्ला । कर्णाली प्रदेशसभामा दर्ता भएको “सिंजा सभ्यताको संरक्षण तथा विकास विधेयक”माथि सुझाव सङ्कलन गरिदैं छ । प्रदेश सभामा पहिलो पटक दर्ता भएको गैरसरकारी विधेयक “सिंजा सभ्यताको संरक्षण तथा विकास विधेयक”माथि कात्तिक २८ गते कनकासुन्दरी गाउँपालिका ४ लामाथाँडामा सुझाव सङ्कलन गर्न लागिएको हो ।
कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा सांसद नरेश भण्डारी र सांसद पदम रोकायाले गएको असोज १० गते प्रदेशसभामा “सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८”दर्ता गराएका थिए ।
उक्त विधेयकलाई पूर्णता दिनका लागि आइतबार कनकासुन्दरी गाउँपालिकामा सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।
सुझाव सङ्कलन कार्यक्रममा प्रदेश सभा संसदीय टोली सहित सिंजा सभ्यताका जानकार व्यक्ति, आठै स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी लगायतका सरोकारवालाको सहभागिता रहने अध्यक्ष शाहीले जानकारी दिनुभयो । विधेयक माथि सुझाव सङ्कलन कार्यक्रमको समन्वय तथा पत्राचार गर्ने जिम्मा पत्रकार महासङ्घ जुम्लालाई दिइएको छ ।
कनकासुन्दरी ४ लामाथाँडामा आइतबार बिहान साढे १० बजेदेखि सुझाव सङ्कलन कार्यक्रम शुरु हुने भएको छ । सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि विधेयकमा उल्लेख भएका विभिन्न बुँदा माथि छलफल तथा छुटेका विषय वस्तु समेट्ने गरी सुझाव सङ्कलन हुने छ ।
नेपाली भाषाको उद्घम स्थल सिञ्जाको विरासतलाई जोगाउन सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक कोशे ढुंथा साबित हुने पुर्वमन्त्री नरेश भण्डारीको भनाई छ । विधेयकले खस संस्कृतिको संरक्षण, ऐतिहासिक विषयमाथिको छलफल, सिंजा सभ्यताको प्रचारप्रसार तथा ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउन समेत विधेयकले महत्त्व भूमिका खेल्ने बुझिएको छ ।








प्रतिक्रिया राख्नुहोस्