पत्रकारिता र संसद् लोकतन्त्रको आत्मा: सभामुख
धुलिखेल । सभामुख अग्निप्रसाद सापकोटाले पत्रकारिता र संसद् लोकतन्त्रको आत्मा भएको बताउनुभएको छ ।
सङ्घीय संसद् सचिवालयद्वारा आज धुलिखेलमा आयोजित ‘संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका’ विषयक कार्यक्रममा उहाँले लोकतन्त्रको असल अभ्यास गर्न सकियो भने सबैभन्दा ठूलो उपलब्धि त्यही हुने उल्लेख गर्नुभयो ।
संविधान राम्रो भए पनि असल अभ्यास गर्न नसक्दा अनेकौँ उतार चढाव व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले पत्रकारिताको तागत र शक्तिलाई गहिरो ढङ्गबाट बुझेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रले पछि परेको समुदायको आवाजलाई प्राथमिकताका साथ समेट्न सुझाव दिनुभयो ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले कोभिड–१९ का बाबजुद संसदीय गतिविधिसम्बन्धी समाचार र सूचना जनतासमक्ष तत्काल पुर्याउन पत्रकारिता जगतले ठूलो सहयोग गरेको बताउनुभयो ।
सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डे र पत्रकार मनोज सत्यालले संसदीय गतिविधि र पत्रकारिता विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सचिवालयका सचिव सुदर्शन खड्का र पत्रकार बिनु सुवेदीले टिप्पणी गर्नुभएको थियो ।
दुई दिने उक्त कार्यक्रममा काठमाडौँबाट प्रकाशित एवम् प्रसारित राष्ट्रिय सञ्चार माध्यममा संसदीय बिटमा कार्यरत समाचारदाताको सहभागिता छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्