तपाईँ सुन्दै हुनुहुन्छः

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक पढाई शुरु गर्दै

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको अध्ययन अध्यापन गर्ने तयारी पुरा गरेको छ । 

गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याब तर्फको जनशक्ति उत्पादन गर्नका लागि वि एम एल, नर्सिङ तर्फको वि एस सी नर्सिङ तथा पब्लिक हेल्थ तर्फ वि पी एच को पठन पाठन एक दुई दिनमा शुरु गर्ने तयारी गरेको उप कुलपति डा. राम केवल साहले जानकारी दिनुभयो  ।

सबै विषयको अध्ययन अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भएको उपकुलपति डा. साहले बताउनुभयो । जनकपुरधामको मणिपाल शिक्षण कलेजलाई नै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध्यापन गर्ने थलो बनाइएको छ । 

शिक्षण अस्पतालको रुपमा प्रादेशिक अस्पताल जनकपुरधामको सेवा विस्तार गर्ने गरी प्रतिष्ठानले काम अगाडी बढाएको छ । निक्कै सस्तोमा सरकारी स्तरबाट अध्ययन अध्यापन हुने मधेस स्वास्थ्य विज्ञानले योग्य स्वास्थ्यकर्मी उत्पादनका लागि विशेष ध्यान दिने उद्देश्य लिएको छ । 

आई ओ एमवाट पहिलो पटक स्नातक तहका तीन वटा विषयको अध्यापन अनुमति प्रतिष्ठानले पाएको छ । जस अन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याब तर्फका लागि २०/२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ । 

आई ओ एमले तोकेको शुल्कमा नबढ्ने गरी अध्ययन अध्यापन गराउने उपकुलपति डा. राम केवल साहले बताउनुभयो ।

निकट भविष्यमा नै एम डी तथा एम एसको स्वीकृति लिएर विशेषज्ञ चिकित्सक तयार पार्ने पक्षमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको उपकुलपति डा. साहको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button