तपाईँ सुन्दै हुनुहुन्छः

तरलता अभावको समस्या तत्काल समाधान गर्न आग्रह

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधान गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कलाई आग्रह गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र बिस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय बिस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैङ्किङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पार्न सक्छ, त्यसैले यो समस्या हल गर्न सरकार गम्भीर हुनुपर्छ ।” 

आज भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र बिस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैङ्कले तत्कालै कदम चाल्न नसके यसले दीर्घकालीन समस्या उत्पन्न गर्नेछ भन्नुभयो । 

वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “बैङ्किङ क्षेत्रको तरलताले उद्योग व्यवसायको गतिविधि बढाउन अझै निकै समस्या आउने देखिन्छ, यो समस्यालाई समाधान गर्ने गरी सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैङ्कलाई तुरुन्त कदम चाल्न म आग्रह गर्दछु, अब नयाँ मौद्रिक नीति आउँदा यो समस्यालाई सम्बोधन गर्ने गरी नीति आउनु आवश्यक छ ।” 

उहाँले यो समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सरकारको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले यस वर्ष बजेट ल्याउन ढिला हुँदा सरकारी खर्च कम भएको र विप्रेषणको आप्रवाह पनि घट्न पुगेको भन्दै यसले बजारमा तरलता अभाव देखिएको स्पष्ट गर्नुभयो । 

उहाँले स्थानीयस्तरमा बजार अनुगमन होस् या अन्य व्यावसायिक गतिविधिका लागि स्थानीय सरकारहरूले निजी क्षेत्रको समन्वयमा काम गर्न सक्दा मुलुकको निजी क्षेत्र र सरकारका लागि पनि राम्रो हुने बताउनुभयो । सरकारदेखि जिल्ला प्रशासन कार्यालयसम्मले गर्ने लकडाउन, निषेधाज्ञा र अनुगमनमा निजी क्षेत्रलाई बेवास्ता गरेर गतिविधि गरेको पाइएको भन्दै उहाँले त्यस्ता गतिविधि गर्दा निजी क्षेत्र र सङ्घको सहयोग लिएर गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “यस्ता कार्यमा निजी क्षेत्रलाई संलग्न गराउने या निजी क्षेत्रका प्रतिनिधिलाई विश्वासमा लिएर काम गर्न सकेमा राम्रो परिणाम निस्किने छ, यो कुरा सबै तहका सरकारहरूले मनन गर्नुपर्छ ।” उहाँले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको चर्चा गर्दै राज्यका संयन्त्रले पनि निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने सुझाव दिनुभयो । 

निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन भएका उहाँले चर्चा गर्नुभयो । मुलुकमा व्यावसायिक सफलता आएमा देशको आर्थिक वृद्धि भई रोजगारी सिर्जना हुने भन्दै उपाध्यक्ष ढकालले विकासोन्मुख देशमा निजी क्षेत्रको भूमिका झन् ठूलो र महत्त्वपूर्ण हुने पनि स्पष्ट गर्नुभयो । 

पर्यटन व्यवसाय पुनः सुरु भएको र आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकारले कर्मचारीलाई १५ दिनको तलब उपलब्ध गराउने नीतिले आन्तरिक पर्यटनको विकासमा टेवा पु¥याएको उहाँको भनाइ छ । अहिले बिदाका बेलामा नगरकोटदेखि धुलिखेलसम्मका होटल आन्तरिक पर्यटकले भरिने गरेको चर्चा गर्दै उहाँले निजी र सार्वजनिक निकायले पनि यस्ता कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले भक्तपुरलाई हस्तकलाको राजधानीका रुपमा विकास गर्न सङ्घले आगामी पाँच वर्षे ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोरोनाका कारण उद्योग व्यवसाय मारमा परेकाले पुनः गतिविधि अगाडि बढाउन आवश्यक रहेको भन्दै सूचना प्रविधिको क्षेत्रमा नयाँ अवसर सिर्जना गरी युवालाई प्रविधिको विकाससँगै रोजगारीमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

अहिले उद्योग व्यवसाय सङ्कटमा परेको बेलामा एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा छिन्नभिन्न भएर भिन्नाभिन्नै सङ्घ खोल्दा आफैँ कमजोर हुने भन्दै उहाँले उद्योगको विकासका लागि सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष शिव मानन्धरले अबको नयाँ नेतृत्व सर्वसम्मत रुपमा आउनुपर्नेमा जोड दिँदै सङ्घको गतिविधिलाई चलायमान बनाउने बताउनुभयो । त्यस अवसरमा उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button