तपाईँ सुन्दै हुनुहुन्छः

गोदावरीको मुक्तिनाथ धाममा पर्यटकको चाप

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १ ढुङ्गासाँगुमा स्थापना गरिएको १०८ मुक्तिनाथ धाम मन्दिर अहिले धार्मिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । मन्दिर परिसरमा अहिले दैनिक हजारौँ पर्यटक आउने गरेको स्थानीयको भनाई छ । 

गोदावरीबाट किनमेल तथा व्यापारको सिलसिलामा भक्तपुर जाने मुख्यमार्ग ढुङ्गासाँगुको किनारमा ९० सालभन्दा अघि एक जना स्थानीयले हिँड्दा साइत पर्छ भनेर गणेशको मूर्ति स्थापना गरेको स्थानमा अहिले ढुङ्गासाँगु १०८ मुक्तिनाथ धाम मन्दिर निर्माण गरिएको मन्दिर निर्माण उपभोक्ता समितिको सचिव शिबराम थापाले बताउनुभयो । 

गणेशको मन्दिर रहेको ठाउँमा स्थानीय २३ जनाले १० हजारको दरले पैसा सङ्कलन गरेर २०७४ सालमा भागवत सप्ताह लगाएको र सप्ताहबाट सङ्कलन भएको पैसाले १०८ धारा निर्माण गर्ने भुवन गुरुको सुझाव अनुसार ढुङ्गासाँगु १०८ मुक्तिनाथ धाम मन्दिर निर्माण गरिएको उपभोक्ता समितिका सचिव थापाले बताउनुभयो । 

९० साल भन्दा अघि गणेशको मूर्ति स्थापना गरिएको ढुङ्गासाँगुमा २०५५ सालतिर पशुपति मन्दिर निर्माण गरिएको थियो भने २०५८ सालतिर सप्तऋषी र राम सिताको मन्दिर निर्माण गरिएको थियो ।  

विगतमा व्यापार व्यवसाय तथा किनमेलको लागि भक्तपुरबाट तराई झर्ने र गोदावरीबाट भक्तपुर जाने मुख्य मार्गमा रहेको गौमती खोलामा ढुङ्गाको साँगु राखिएकोले ढुङ्गासाँगु १०८ मुक्तिनाथ धाम मन्दिर निर्माण भएको ठाउँलाई ढुङ्गासाँगु भनिएको स्थानीय बताउँछन् । गौमती खोलामा अहिले ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयको सहयोगमा पक्किपुल निर्माण गरिएको भए पनि विगतमा साँघुको लागि प्रयोग गरिएको ढुङ्गालाई समेत सुरक्षित राखिएको स्थानीय उत्तम कार्कीले बताउनुभयो । 

ढुङ्गासाँगु १०८ मुक्तिनाथ धाम मन्दिरमा गत असोज २५ गते मुक्तिनाथ मन्दिरबाट जल ल्याई हेलिकप्टरबाट छरेर मन्दिरको औपचारिक उद्घाटन गरिएको थियो । त्यस यता मन्दिरमा दैनिक हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आउने गरेको स्थानीयको भनाई छ । शनिवार र बिदाको दिन १० हजार भन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय उत्तम कार्कीको भनाई छ । 

मन्दिरमा निर्माण भएको १०८ धारामा उपत्यकाको प्रमुख चार नारायण भक्तपुरको चाँगुनारायण, काठमाडौँको इचङ्गुनारायण, ललितपुरको विशंखुनारायण र दक्षिणकालीको शेषनारायण मध्य ललितपुरको विशंखुनारायणको पाउमा रहेको गायत्री कुण्डबाट ल्याइएको पानी झारिएको उपभोक्ता समितिका सचिव थापाले बताउनुभयो । 

मन्दिर निर्माणको लागि सप्ताहबाट उठाइएको ३० लाख, प्रदेश सभासद्को बजेटबाट ३० लाख, गोदावरी नगरपालिकाको २५ लाख र बाँकी स्थानीयबाट उठाइएको रकम गरी डेढ करोड खर्च भएको उपभोक्ता समितिको सचिव थापाले बताउनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button