तपाईँ सुन्दै हुनुहुन्छः

१२ वर्ष देखी १७ वर्ष सम्मका बालबालिका तथा दीर्घ रोगीहरूलाई आइतबारदेखि खोप लगाइने

काठमाडौँ । सरकारले १२ वर्ष देखी १७ वर्ष सम्मका दीर्घ रोगी तथा बालबालिकाहरूलाई आइतबारदेखि फाइजर–बायोटेक खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आज टेकुमा आयोजना गरेको पत्रकार सम्मेलनमा   आइतबार (कार्तिक २८) गते देखि मङ्सिर ४ गतेसम्म  १२ वर्षभन्दा माथिका दीर्घ रोगी बालबालिकाहरूलाई खोप लगाइने  स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो । 

उहाँले खोपका  लागि मुलुकका विभिन्न  २४ वटा अस्पतालमा बिहान १० बजे देखी दिउसो ४ बजे सम्म सम्पर्क गर्न सकिने जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र (भक्तपुर) बाट सेवा लिन सकिनेछ  ।

त्यस्तै बागमती प्रदेशमा उपत्यका बाहिर बी.पी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुर र धुलिखेल अस्पताल धुलिखेलमा  फाइजर–बायोटेक खोप लगाइने छ ।

प्रदेश १ मा बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) र कोशी प्रादेशिक अस्पताल विराटनगरमा पनि फाइजर खोप उपलब्ध हुनेछ । 
प्रदेश २ मा गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज, नारायणी प्रादेशिक अस्पताल विरगंज र जनकपुर प्रादेशिक अस्पताल, जनकपुरधामबाट पनि खोप लगाइने छ ।

त्यस्तै गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरि अस्पताल बागलुङबाट फाइजर खोप दिइनेछ ।

लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल नेपालगञ्ज रहेका छन् ।

कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेलधुरा अस्पताल अमरगढीमा फाइजर खोप उपलब्ध हुने पनि प्रमुख दाहालले जानकारी दिनुभयो । 

प्रमुख दाहालले १२ वर्ष भन्दा माथिका करिब ५० हजार दीर्घ रोग भएका बालबालिकालाई मात्र खोप लगाइने भएकाले पहिले अरू खोप लगाएकाहरू र स्वस्थ बालबालिकाहरू खोप लगाउन नगइदिन हुन अनुरोध गर्नुभयो । 

प्रमुख दाहालले यो पटक १ लाख मात्रा मात्र  खोप भएकाले  दीर्घ रोगी बालबालिकालाई लगाउने र डिसेम्बरमा आउने खोप बाट सबै बालबालिकामा खोप लगाई सक्ने बताउनु भयो । 

उहाँले आगामी चैत मसान्त सम्म लक्ष्य अनुरूप सबै नागरिकलाई खोप लगाइने सक्ने पनि जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button