हिमालयन फाउन्डेसनले हेलम्बुका बाढीपीडितका लागि १० घर बनाउने

सिन्धुपाल्चोक । सामाजिक कार्यमा सक्रिय हिमालयन फाउन्डेसन कर्प न्यूयोर्क एण्ड क्यालिफोर्नियाले जिल्लाको हेलम्बुका बाढीपीडितका लागि १० वटा घर निर्माण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा बुधवार हेलम्बु गाउँपालिका कार्यालयमा हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउण्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठबीच घर निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार प्रति घर निमार्ण चार लाख खर्च हुनेछ ।
‘अमेरिकामा बसे पनि आफ्नो गाउँघर सम्झिएर बाढीपीडितलाई सहयोग गर्न लाग्नु भएकोमा खुसी लाग्यो,’ कार्यक्रममा उपमेयर खड्गीले भन्नुभयो ‘जो जहाँ रहे पनि एउटा नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोग गर्नु निकै राम्रो कुरा हो । म पनि बाढी पीडितका लागि आफूले सके जति पहल गर्छु ।’
हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले गाउँपालिकासंगको सहकार्यमा हिमालयन फाउन्डेसन कर्पले बाढीपीडितका लागि घर बनाउने जमर्को गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं–७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, तामाङ को–अपरेसन सोसाइटी अफ क्यालिफोर्नीयाका अध्यक्ष शेरबहादुर लामा, प्रोफेसर प्रकाश खड्गी, चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्ष लक्ष्मण सुवेदीलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
आफू सोही ठाउँमा जन्मे हुर्किएकाले सिन्धुपाल्चोकमा केही घटना हुँदा निकै मन पोल्ने गरेको हिमालयन फाउन्डेसनका संस्थापक श्रेष्ठले बताउनुभयो ।
गत असार र साउनमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका थुप्रै वडामा ठूलो जनधनको क्षति भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्