पूर्वमा फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती मनाइयो

ताप्लेजुङ । आज किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती । ताप्लेजुङ सहित पाँचथर, तेह्रथुम, इलामलगायत पूर्वी जिल्लाहरूमा विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ ।
जन्मजयन्तीका अवसरमा धार्मिक प्रवचन, माङहिममा पूजा अर्चना, फाल्गुनन्दका शालिक तथा प्रतिमामा माल्यार्पण, महागुरु फाल्गुनन्दले दिनुभएका उपदेश तथा सत्यधर्म मुचुल्काको परिचर्चा, लिम्बू समुदायको सांस्कृतिक, धार्मिक, भाषिक पहिचानको जगेर्ना र संवर्द्धन लगायतका विषयमा छलफल भइरहेको छ ।
ताप्लेजुङमा किराँत धर्म तथा साहित्य उत्थान सङ्घले जिल्ला स्तरीय कार्यक्रमको आयोजना गरे पनि जिल्लाको नौ स्थानीय तहहरूमा नै कार्यक्रमको आयोजना गरिएको छ । किराँती भेषभुषामा सजिएका सहभागीले फुङलिङ बजारको र्याली समेत निकालिएको थियो । १६ औँ राष्ट्रिय विभूति समेत सहनुभएको महागुरुले किराँत भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको किराँत धर्मका गुरु लेखबहादुर पालुङुवाले बताउनुभयो ।
विसं १९४२ कात्तिक २५ गते हाल इलामको माङसेबुङ गाउँपालिका वडा नं २ को चुक्चिनाम्वामा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साइँला सन्तानको रुपमा फाल्गुनन्दको जन्म भएको थियो । जन्मको नरध्वज लिङ्देन रहनुभएका उहाँ कर्मले फाल्गुनन्द भएर उदाउनुभएको पाइन्छ ।
महागुरु फाल्गुनन्दलाई किराँत धर्मका महान् गुरु तथा समाज सुधारकको हेर्ने गरिन्छ । फाल्गुनन्दलाई किराँत भाषामा ‘मुहिगुम आङसिमाङ’ भनिन्छ । उनले समाज सुधारका निमित्त नीति निर्माणका लागि बनाएको सात बुँदे ‘सत्य धर्म मुचुल्का विसं १९८८ वैशाख २४ गते पारित भएको थियो ।
फाल्गुनन्दको निधन विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्