एमालेले सङ्गठित सदस्यबाट रु १०० उठाउने

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ ।
एमालेले पार्टी सङ्गठित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशनमा लाग्ने खर्च पार्टी सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले उठाइने जानकारी दिनुभयो ।
“महाधिवेशनमा लाग्ने खर्च यस पटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय गरेका छौ,” उहाँले भन्नुभयो, “सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँ र स्वैच्छिक १०० भन्दा बढी जति पनि दिन पाउने गरी सङ्गठित सदस्यबाट पैसा उठाउँछौ ।”
एमालेका करिब सात लाख ३० हजार पार्टीका सङ्गठित सदस्य रहेको बताइएको छ ।
पार्टी मातहतका सबै कमिटीलाई सर्कुलर जारी गर्दै बैङ्कमा पैसा जम्मा गर्न लगाइने सचिव तामाङले बताउनुभयो । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।
पार्टीले स्वतः हुने प्रतिनिधिबाट रु तीन हजार र निर्वाचनबाट छनोट गरिने प्रतिनिधिबाट रु दुई हजारका दरले महाधिवेशन शुल्क तोकेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्