तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतमा अघोषित इजलास बहिस्कार जारी, इजलास नबसेपछि मुद्दाको सुनुवाइ प्रभावित

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले निकास दिनुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरूले अघोषित रुपमा इजलास बहिस्कारलाई जारी राखेका कारण आज पनि मुद्दाको सुनुवाइ प्रभावित भएको छ । 

न्यायाधीशहरुले इजलास बहिस्कार जारी राखेका कारण आज दुई वटा इजलासबाहेक अन्य कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ हुन सकेन । 

आज नौ वटा इजलासमा पेशी तोकिएका १ सय ७७ मुद्दामध्ये दुई वटा एकल इजलासमा एक÷एक गरी दुई वटा बन्दी प्रत्यक्षीकरण मुद्दामा मात्र सुनुवाइ भयो । 

सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश इजलासबाट अलग भए बन्दी प्रत्यक्षीकरण मुद्दा मात्र सुनुवाइ गर्ने अडान राख्दै आएका छन् । 

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन आन्दोलनमा छन् ।   

यसैवीच प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोधका कार्यक्रम जारी राखेको नेपाल बार एशोसिएशनले शुक्रवारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । 

यस्तै, नेपाल बारले भोलिदेखि सर्वोच्च अदालतको कुनै पनि इजलासमा बहस नगर्ने र बेन्च बहिसकार गर्ने जनाएको छ । 

यसैगरी, प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशहरुलाई अनुरोध समेत गरेको छ । 

बारले आज गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा महासचिव लिलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल लगायत ५ जना घाइते भएको उपाध्यक्ष मानबहादुर रुम्दालीले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीशले सहकर्मी न्यायाधीश र कानुन व्यवसायीको विश्वास गुमाइसकेको भन्दै नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेल आन्दोलनका कार्यक्रमहरू जारी राख्ने जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button