तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु सम्मेलनमा नेपालको उपस्थिति र विश्व समुदायले देखाएको हार्दिकता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य (बेलायत)मा पाएको उच्च सम्मान, विश्वका शक्तिशाली देशका नेताहरूसँगको भेटवार्ता र मुलुकका तर्फबाट राख्नुभएको स्पष्ट धारणाबाट नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो उपलब्धि हासिल भएको छ ।

त्यस सम्मेलनका क्रममा भएका उच्चस्तरीय साइडलाइन वार्ताहरू, प्रधानमन्त्री देउवाले देखाउनुभएको आत्मविश्वास तथा परिपक्व व्यवहारका साथै सम्मेलनमा नेपालले गरेको वृहत् तयारीका कारण उहाँसँगै नेपालको एजेन्डाले समेत विश्वको ध्यानाकर्षण गर्न सफल भएको विश्लेषकहरूको भनाइ छ । 

यसबाट मुलुकको अन्तर्राष्ट्रिय छवि थप उजिल्याएको पनि महसुस गरिएको छ ।

प्रधानमन्त्री देउवाले स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गतको विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुने क्रममा यही कात्तिक १२ देखि १८ गतेसम्म संयुक्त अधिराज्यको भ्रमण गर्नुभएको थियो । यो बहुपक्षीय अन्तर्राष्ट्रिय सम्मेलनलाई उहाँले नेपालका तर्फबाट विश्वसामु आफ्ना धारणाहरू प्रस्तुत गर्ने मञ्चका रूपमा राम्रैसँग सदुपयोग गरेको देखिएको छ ।

कात्तिक १५ र १६ गते आयोजना गरिएको विश्व नेताहरूको शिखर सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा उहाँले पाउनुभएको महत्त्व मुलुककै लागि गौरवको विषय हो । सोही दिन प्रधानमन्त्री देउवाले सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो ।

जलवायु सम्मेलनमा अन्तर्राष्ट्रिय जगत् र विशेष गरी आयोजक राष्ट्र बेलायतले नेपाल र नेपालका प्रधानमन्त्रीलाई दिएको महत्त्व विशेष खालको थियो । बेलायती प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका सरकार प्रमुखले सम्मेलनको दोस्रो दिन सहभागी झन्डै १२० देशका राष्ट्र प्रमुख र सरकार प्रमुखमध्ये केही सीमित देश (२१ देश)का राष्ट्र प्रमुख र सरकार प्रमुखका लागि आयोजना गर्नुभएको ‘ब्रेकफाष्ट मिटिङ’ मा नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गर्नु पनि नेपालप्रतिकै सम्मान हो ।

सो अवसरमा प्रधानमन्त्री जोनसनले नेपाललाई मञ्चमा राखेर प्यानलिष्टका रूपमा स्थान दिनुभएको थियो । प्रधानमन्त्री देउवाले वन तथा भू–उपयोग व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलिष्टका रूपमा सम्बोधन गर्दै स्वैच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औजारमा नेपालको चासो रहेको धारणा व्यक्त गर्नुभएको थियो । सम्मेलनमा नेपाल जलवायुबाट पीडित राष्ट्र हो भन्ने कुरा नेपालले मुखरित गरेको छ भने नेपालले जलवायु असरसँग जुध्न सरकार र जनताको तर्फबाट प्रयत्न गरेको छ भन्ने कुरालाई पनि विश्व समुदायले स्वीकार गरेको थियो ।

प्रधानमन्त्री देउवासँग बेलायतका चार मन्त्रीले शिष्टाचार र द्विपक्षीय भेटवार्ता गर्नुलाई पनि आयोजक राष्ट्र बेलायतले दिएको महत्त्वका रूपमा दर्शाउन सकिन्छ । बेलायतका रक्षा मन्त्री बेन वालेस र अन्तर्राष्ट्रिय व्यापार मन्त्री एनी–मैरी ट्रेवेलयन, दक्षिण एसिया हेर्ने परराष्ट्र राज्यमन्त्री लर्ड अहमद र ‘स्मल विजिनेश तथा इण्डष्ट्रिज’ हेर्ने राज्यमन्त्री पल स्कलीले प्रधानमन्त्री देउवासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

रक्षा मन्त्री वालेससँग सौहार्द रूपमा भेटवार्ता हुनुका साथै भूतपूर्व गोर्खा सैनिकका मुद्दाका बारेमा गम्भीर छलफल भएको थियो । प्रधानमन्त्री देउवाले ब्रिटिस गोर्खासम्बन्धी मुद्दा पुरानो भएको भन्दै यसको दिगो समाधान गर्न आग्रह पनि गर्नुभएको थियो । त्यस वार्ताका क्रममा द्विपक्षीय वार्ता समिति गठन गरेर उक्त मुद्दा टुङ्ग्याउने सहमति पनि भएको छ ।

बेलायती प्रधानमन्त्री जोनसनलाई नेपाल भ्रमणको निमन्त्रणा
प्रधानमन्त्री देउवाले आफ्ना बेलायती समकक्षी बोरिस जोनसनलाई नेपाल भ्रमणको निमन्त्रण दिनुभएको छ । मन्त्री वालेस प्रधानमन्त्री जोनसनका विश्वासपात्र मानिन्छन् । अन्तर्राष्ट्रिय व्यापार मन्त्री ट्रेवेलयनसँगको भेटमा प्रधानमन्त्री देउवाले बेलायतसँगको व्यापारमा नेपाललाई पनि आबद्ध गर्न आग्रह गर्नुका साथै नेपालको व्यापार क्षमता बढाउने र नेपाली उत्पादनलाई बेलायतमा सहज पहुँच दिलाउने विषयमा पनि कुरा भएको थियो ।

यसबाहेक बेलायतको नेपालका लागि सर्वदलीय संसदीय समूहले प्रधानमन्त्री देउवाको सम्मानमा रात्रि भोजको आयोजना गर्नु पनि अर्को एक महत्त्वपूर्ण कार्यक्रम हो । त्यसमा पनि बेलायतका दुवै सदन हाउस अफ कमन्स र हाउस अफ लर्डस्का सत्तारुढ र प्रमुख विपक्षी दलका डेढ दर्जन सांसदलगायत स्थानीय सरकारका प्रमुखहरूको समेत उपस्थिति थियो । यसलाई नेपालका प्रधानमन्त्री र नेपालको संसदीय विकास क्रमप्रति बेलायती सांसदहरूको उच्च सम्मान रहेको छ भन्न सकिन्छ ।

संयोगवश, प्रधानमन्त्री देउवाले बेलायतबाटै उच्च शिक्षा हासिल गर्नुभएको हो । आफ्नो देशमा उच्च शिक्षा हासिल गरेको व्यक्ति नेपालको पाँचौँ पटक प्रधानमन्त्री भएर त्यही देशको भ्रमण गरिरहँदा बेलायतीहरूले बढी महत्त्व दिएको हुनसक्ने अर्थका रूपमा पनि लिन सकिन्छ ।

यसैगरी, स्कटल्याण्डको रोयल बोटानिकल गार्डेनमा प्रधानमन्त्री देउवाको सम्मानमा स्टकल्याण्डका मन्त्री र सांसदसहितले आयोजना गर्नुभएको स्वागत कार्यक्रम पनि अविस्मरणीय छ । प्रधानमन्त्री देउवा त्यहाँस्थित नेपाली बगैँचामा बिरुवा रोप्ने पहिलो प्रधानमन्त्री हुन पाउनु पनि अर्को महत्त्वको विषय हो । यहाँ स्मरणीय के छ भने नेपाल र बेलायतको सम्बन्ध वनस्पतिबाट सुरु भएको भन्न सकिन्छ । बेलायती नागरिक फ्रान्सिस बुखानन हेमिल्टनले २१६ वर्षअघि नै नेपालका वनस्पतिको अध्ययन गरेर सोबारेमा पुस्तक प्रकाशन गर्नुका साथै केही वनस्पतिका नमुनाहरू अहिले पनि सो गार्डेनको सङ्ग्रहालयमा सुरक्षित छन् । नेपाल र बेलायत बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको २०५ वर्ष पुगेको छ । तत्कालीन राजा महेन्द्रले पनि विसं २०१७ मा बेलायतको भ्रमण गर्दा सो बगैँचामा बिरुवा रोपेको देखिन्छ । राजा महेन्द्रको बेलायतको उक्त भ्रमणपछि नै बेलायतको सहयोगमा काठमाडौँको गोदावरीमा वनस्पति उद्यान स्थापना गरिएको थियो ।

भारतीय समकक्षी मोदीसँगको ऐतिहासिक भेटवार्ता
अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सन्दर्भमा कुरा गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवासँग विश्व बैङ्क समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेष्टुले भेटवार्ता गरी नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड–१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल गर्नुभएको थियो । त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)की डेपुटी सिइओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा बेलायतमा रहँदा उहाँसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैर आवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूले पनि भेट्नुभएको थियो । उहाँको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनुभएको थियो । उहाँले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यहरूले समेत भेटवार्ता गर्नुभएको थियो ।

सम्मेलनलाई नेपालले जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्यका लागि महत्त्वपूर्ण अवसरको रुपमा लिएको थियो । सोहीअनुसार नेपालले सम्मेलनको पूर्व सन्ध्यामा यही कात्तिक ११ गते मन्त्रिपरिषद् बैठकबाट ‘नेपालको राष्ट्रिय अनुकूलन योजना ९२०२१–२०५००’, ‘खुद शून्य उत्सर्जनमा नेपालको दीर्घकालीन रणनीति’ र ‘जलवायुजन्य हानी नोक्सानीसम्बन्धी राष्ट्रिय कार्य ढाँचा’ महत्त्वपूर्ण कार्य योजना पारित गरेको थियो । उक्त नीतिगत दस्ताबेज र कार्य योजना अन्तर्राष्ट्रिय समुदायसँग समन्वय, सहकार्य, ज्ञान र सीप आदानप्रदानका लागि सम्मेलनमा समेत उच्च प्राथमिकताका साथ प्रस्तुत गरिएका छन् । 

साथै वन तथा वातावरण मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञसहितको १० टोली गठन गरी त्यसबाट प्राप्त सुझावका आधारमा नेपालको अवधारणा पत्र तयार गरी सम्मेलनमा प्रस्तुत गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button