जनगणनाको लागि पाँचथरमा २४५ गणक खटिए
पाँचथर । राष्ट्रिय जनगणना २०७८ को लागि पाँचथरमा २ सय ४५ जना गणक खटिएका छन् ।
मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु गरिएको जनगणना आगामी मङ्सिर ९ गतेसम्म हुने जिल्ला जनगणना कार्यालय पाँचथरले जनाएको छ ।
यसअघि जिल्लामा ६५ जना सुपरिवेक्षकले सूचीकरण गरेको ३८ हजार ३ सय ६८ घरका ४२ हजार ३ सय ४४ परिवारको गणना हुने पाँचथरका जनगणना अधिकारी लक्ष्मण कँडेलले जानकारी दिनुभयो । सुपरिवेक्षकले सूचीकरण गर्न छुटाएको यो सङ्ख्या बढ्न सक्ने उहाँको भनाई छ ।
जनगणना कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्लाका ८ स्थानीय तहमा ४ वटा जनगणना कार्यालयको स्थापना गरिएको छ ।
याङवरक गाउँपालिकाको थर्पु, फिदिम नगरपालिकाको फिदिम बजार, मिक्लाजुङ गाउँपालिकाको रवी र फाल्गुनन्द गाउँपालिकाको फाक्तेपमा जनगणनाको कार्यालय स्थापना गरिएको जनगणना अधिकारी कँडेलले बताउनुभयो ।
जनगणनाको पहिलो चरणमा सुपरिवेक्षकले घर सङ्ख्या, परिवार सङ्ख्या, कृषि विवरण, आर्थिक गतिविधि, बैङ्क खाता आदिका बारेमा सामान्य विवरण सङ्कलन गरी घरको सूचीकरण गर्दछ भने सूचीकरण पश्चात् दोस्रो चरणमा गणकले जाति, धर्म, संस्कृति, शैक्षिक विवरण, आर्थिक गतिविधि, मृत्युसँग सम्बन्धित विवरण जस्ता विवरण सङ्कलन गरिने बताइएको छ ।
अघिल्लो चरणको जनगणनाभन्दा बढी प्रश्नहरू थपिएको जनगणना अधिकारी कँडेलको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्