किरात धर्मका संरक्षक फाल्गुनन्दको धार्मिक थलो पाँचथर

फिदिम नगरपालिका नेपालको प्रदेश नम्बर १ अन्तर्गत सुदुर पुर्व पाँचथर जिल्लामा पर्छ । अन्य जिल्ला भन्दा फरक पहिचान बोकेको पाँचथर जिल्लामा एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । एक मात्र फिदिम नगरपालिका जिल्लाको सदरमुकाम हो । यो नगरपालिका समुद्र सतहबाट १ हजार ३ सय ८० फिट फिदिम–४ माझिटार देखि १० हजार ७ सय ३७ फिट लुङरुपाको छिन्तापुडाँडा सम्मको उच्चाइमा अवस्थित छ ।
यही नगरपालिका किरात धर्मका महागुरु फाल्गुनन्दको कर्मभुिम हो । यहाँका केही ठाउँ उहाँका जिवनीसँग प्रत्यक्ष जोडिएका छन् । बुवा जगनबाज लिङ्देन र आमा हंसमती लिम्बुको कोखबाट वि.सं १९४२ कार्तिक २५ गते इलामको इभाङस्थित चुक्चिनाम्बामा फाल्गुनन्दको जन्म भएको थियो । इलाममा जन्मिए पनि फाल्गुनन्दले पाँचथरको लब्रेकुटी र सिलौटीलाई धार्मिक थलो तथा कर्म थलो बनाउनुभएको थियो । उहाँको विचारलाई लिम्बु जातिले पछ्याएकै कारण किरात धर्म दर्शनको संरक्षण भएकोले उहाँलाई समाज सुधारकको रुपमा पनि चिन्ने गरिन्छ । उहाँलाई २०६६ मंसिर १६ गते सरकारले १६ औँ राष्ट्रिय विभुती घोषणा गरेको थियो ।

फाल्गुनन्दको कर्मभुमि क्षेत्रमा धार्मिक तथा पर्यटकीय स्थल लब्रेकुटी र सिलौटी छन् । फिदिम नगरपलिकाको वडा नं. ३ र ५ को सिमानामा रहेको यस ठाउँ किरात धर्मका महागुरु फाल्गुनन्दले ध्यान, होमादी गरी लामो समय बिताएको पवित्र भुिम हो । लब्रेकुटीमा सयौँ रोपनी क्षेत्रफलमा फैलिएको हरियो वनभित्र रहेको महागुरुको शालिक, माङहिम तथा यज्ञकुण्डसँगै रहेको प्रेम जोडीले सात फन्का परिक्रमा गरेर सोचेको फल प्राप्त गर्ने विश्वासका कारण यो ठाउँ पर्यटकीय क्षेत्रको रुपमा पनि विकसित भएको छ । अझ वसन्त ऋतुमा फुलेको रातो लालिगुराँस र चराचुरुङ्गीको आवाजले यो ठाउँ स्वर्गको एक टुक्रा जस्तै रहेको भान हुन्छ ।
वि.सं. १९८८ बैशाख २४ गते दश लिम्बु सत्र थुमका गन्यमान्यको बृहत भेला बाट सात बुँदे सत्य धर्म मुजुल्का पारित भएको थियो । सो मुजुल्कामा निँम्न कुराहरु उल्लेख गरिएको छ ।
१) छोरी–चेलीको सोतरित (सुनौली रूपौली) नखानु, नलिनु ।
२) शुद्धाई (बर्खान्त) र देवकार्यमा जीवघात नगर्नु ।
३) मृत्यु हुँदा ९ दिन बारन गरी १० दिनमा शुद्ध हुनु ।
४) वृद्धि सुतक अर्थात् सुत्केरी २२ दिनपछि चोख्याउनु ।
५) अदौमा सुँगुर, कुखुरा अब उप्रान्त नखानु ।
६) इष्टमित्र, कुलकुटुम्ब आउँदा, भेटघाट हुँदा मदमांश (जाँडरक्सी, मासु) प्रयोग नगर्नु अर्थात् मेजमान नदिनु ।
७) खाउमा (बर्खान्त) गर्दा फलफूल, नैवेद्य र अदुवा चढाउनु । (खाउमा गर्दा सुँगुर र कुखुराको मासु चढाई पिण्ड दिइन्थ्यो ।)
महागुरु फाल्गुनन्दकै समाधिस्थल रहेको ठाउँ हो सिलौटी । फिदिम बजारबाट २१ कि.मी.को दुरीमा रहेको पौवा भञ्ज्याङबाट करिब २ कि.मी. कच्ची सडक पार गरी यहाँ पुग्न सकिन्छ । महागुरुले भगवान छन् भनि आफ्ना चेलालाई खन्न लगाउँदा त्यहाँ शिला भेटिएकोले उक्त ठाउँको नाम शिलौटी बन्न गएको भन्ने मान्यता रहेको छ । यहाँ माङहिम निर्माण गरी किरात धर्मावलम्बीहरुले पुजा पाठ गर्दै आएका छन् । सिलौटीमा अहिले महागुरु चिर निन्द्रामा हुनुहुन्छ भन्ने विश्वास छ । फाल्गुनन्दको निधन २००५ साल चैत्र २२ गते भएको थियो ।
फिदिम नगरपालिकाको लब्रेकुटी र सिलौटीमा विभिन्न ठाउँबाट किरात धर्मालवम्बि तथा पर्यटकहरु आउने गरेका छन् । हाल तीस भन्दा बढी स्थानमा माङहिम निर्माण गरी २० भन्दा बढी ठाउँमा महागुरु फाल्गुनन्दका शालिकहरु निर्माण गरिएका छन् । फाल्गुनन्दले स्थापना गरेको धर्मलाई संरक्षण संवर्धन, प्रचारप्रसार गर्नका लागि किरात धर्म तथा साहित्य संघ अन्तर्गत स्वदेश तथा विदेशमा संगठन विस्तार भएका छन् ।
नेपालका १६ औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीको अवसर पारेर २०७५ साल कात्तिक २५ गते अहिले सम्मकै ठुलो १२.८ फिटको महागुरुको शालिक फिदिम बजारमा स्थापना गरेर दिनहूँ पुजा पाठ हुँदै आइरहेको छ । फाल्गुनन्दको सत्कार्यलाई कदर गर्दै २०५० सालबाट सरकारले उनको फोटो अंकित हुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ । कक्षा १० को नेपाली किताबमा उनको जिवनी पनि समावेश गरिएको छ । प्रदेश नम्बर १ सरकारले फाल्गुनन्द जयन्तीको दिन सार्वजनिक विदा दिँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्