राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दको १३७ औँ जन्मजयन्ति

पाँचथर । १६ औँ राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्तिको अवसरमा उहाँको कर्मथलो पाँचथरमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
हरेक वर्ष जन्म जयन्तीमा औपचारिक कार्यक्रम गरिँदै आएकोमा यो वर्ष शुभकामना आदानप्रदान गरी माङसेवा गरेर मनाइने सत्र थुम गोश्वारी युमा माङहिम लब्रेकुटीका सचिव गणेश तुम्रोक लिम्बुले जानकारी दिनुभयो ।
किरात लिम्बु समुदायका समाज सुधारक फाल्गुनन्दले फिदिम नगरपालिका –५ लब्रेकुटीमा १९८८ वैशाख २४ गते दश लिम्बु सत्र थुमका गण्य मान्य भेला गराई सात बुँदे सत्य धर्म मुचुल्का पारित गराउनुभएको थियो । यही मुचुल्कालाई किरात लिम्बुहरूले अहिलेसम्म पनि अनुसरण गरिरहेको अनुयायी विश्वकुमार लिम्बुले बताउनुभयो ।
पछिल्लो समय १० बुँदे सत्य धर्म मुचुल्का भन्ने गरेको पाइएता पनि सात बुँदे मात्र अभिलेखमा पाइने गरेको विश्वकुमार लिम्बु बताउनुहुन्छ ।
बुवा जगनबाज लिङ्देन र आमा हंसमती लिम्बुको कोखबाट वि.सं १९४२ कार्तिक २५ गते इलामको इभाङ स्थित चुक्चिनाम्बामा फाल्गुनन्दको जन्म भएको थियो । उनलाई वि.स.२०६६ मङ्सिर १६ गते सरकारले १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको सत्कार्यलाई कदर गर्दै वि.स. २०५० साल बाट सरकारले उनको फोटो अङ्कित हुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ । एक नम्बर प्रदेश सरकारले फाल्गुनन्द जयन्तीको दिन सार्वजनिक बिदा दिँदै आएको छ । फाल्गुनन्द लिङ्देन को निधन वि.स.२००५ साल चैत्र २२ गते भएको थियो । उहाँको समाधि स्थल पाँचथरको फिदिम नगरपालिका–३ सिलौटिमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्