अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (फोटोफिचर)
वीरगन्ज । छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।
साँझ वीरगन्ज तथा बारा, पर्सा, रौतहट लगायतका जिल्लाका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न भएको छ ।

व्रतालुहरू छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ चढाएपछि घर फर्किएका छन् । अधिकांश व्रतालुहरू रातभर जागराम बसी भजन कीर्तन गर्ने गर्दछन् ।
छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ । पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदाय लगायत मुस्लिम समुदाय एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको छ ।

पारिवारिक एवं सन्तानको सुख समृद्धिको कामना गरी नियम पूर्वक मनाइने छठ पर्वको आज (बुधवार) मुख्य दिन रहेको छ ।
छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र भोलि (बिहीबार) उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वमा बाँसको ढक्की, नाङ्लो माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने व्रतालु ३ दिनसम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् ।

छठ पर्वमा सूर्य भगवान् अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
यसैबिच प्रदेश २ सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बिहानबाट सुरु भएको यो पर्वमा व्रतालु मङ्गलवार दिनभरि भोकै बसेर साँझ सख्खर हालेको खिर खाएका छन् । त्यसपछि उनीहरू आज बुधवार दिनभरि भोकै बसी अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । बिहीबार बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत सम्पन्न हुनेछ ।

यसैबिच छठ पर्वलाई भव्य रुपमा सम्पन्न गर्न वीरगन्ज सहित पर्सा जिल्लाका सम्पुर्ण छठ घाटहरूमा प्रभावकारी रुपमा सुरक्षा व्यवस्था मिलाइएको छ । पर्सामा घडिअर्वा पोखरी सहितका जिल्लाभरिका छठ घाटहरूमा ९ सयभन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्