तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयता बुझ्न नसक्दा समस्या : मन्त्री आचार्य

तनहुँ । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सङ्घीयता नबुझ्दा देशको विकास हुन नसकेको बताउनुभएको छ । खोलाका कारण डुबानमा पर्ने शुक्लागण्डकी नगरपालिका–९ का स्थानीयका समस्या बुझ्न घारी मालेबगर आउनुभएका मन्त्री आचार्यले सङ्घीयताको अर्थ नबुझेकै कारण कार्यान्वयनमा समस्या सिर्जना भएको बताउनुभयो । 

आचार्यले सङ्घीयता कार्यान्वयनका क्रममा गाउँ गाउँमा सिंहदरबार पुर्‍याउने अभ्यास भए पनि जनस्तरबाट आलोचना सुन्नु परेको बताउनुभयो । ‘निर्वाचित जनप्रतिनिधिहरू हल्कारा जस्तो जनताको समस्या सम्बन्धित ठाउँमा लैजाने र ल्याउने खालको हुनुपर्ने थियो ।’ मन्त्री आचार्यले भन्नुभयो ‘हाम्रा साथीहरू अलि ठुलाठालु बनेको जस्तो देखिन्छ त्यसैले जनता र मिडियाबाट गाउँमा सिंह पस्यो दरबार चाही आएन भन्ने आलोचना सुन्नु परेको छ ।’ 

उहाँले देशमा मूल पार्टीले  जनताको हितमा काम गर्न नसकेको कारण अर्को विकल्प दिनुपर्छ भनेर समाजवादी पार्टीमा लागेको स्पष्ट पार्नुभयो । ‘जनताको हितमा हिजो काँग्रेसले गरेन भनी कम्युनिष्ट जन्माइयो, कम्युनिष्टले पनि गरेन अर्को विकल्प दिनुपर्छ भनेर हामी आयौँ, अव हामीले पनि जनताको पक्षमा केही गर्न सकेनौँ भने अर्को विकल्प जनताले खोज्नु पर्छ ।’ उहाँले भन्नुभयो ‘हामी समाजवादको नयाँ अभ्यासको खोजीमा आर्थिक विकास, समृद्धि र अस्थिर राजनीतिक प्रणालीको अन्त्य गर्न तर्फ अग्रसर छौँ ।’

उहाँले प्रत्यक्ष निर्वाचन प्रणाली लागु नभएसम्म देशले गति लिन नसक्ने समेत बताउनुभयो । समग्र देशको विकास गर्ने तर्फ ध्यान दिने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति चयन हुने व्यवस्था लागु हुनुपर्छ उहाँले भन्नु भयो, ‘एउटा जिल्लाको विकास गरेर निर्वाचन जिते प्रधानमन्त्री, मन्त्री हुन पाइयो अनि आफ्नो जिल्ला भन्दा अन्तको विकास किन गर्नुप¥यो ।’ उहाँले  वर्तमान राजनीतिक व्यवस्थाका कारण दुई तिहाइको सरकार पनि टिक्दो रहेनछ भन्ने  पुष्टि भएको बताउनुभयो । 

उहाँले जनताकालाई दुख दिने नेता नबन्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको मुद्दा लिएर मन्त्रालयमा आउन नपर्ने दोहोर्‍याए । फोन गरे पनि जनताले बोलाएको स्थानमा आउन तयार रहेको उहाँको भनाई थियो । उहाँले आगामी निर्वाचनमा सही व्यक्तिलाई निर्वाचित गराउन पनि नागरिकलाई सुझाव दिनुभयो । 

उहाँसमक्ष यहाँका स्थानीयहरूले पहाड खोलाले बर्षेनी निम्त्याउने समस्याको समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । स्थानीयहरू विक्रम कार्की, विशाल केसी, रनबहादुर विक, प्रकाश अधिकारी लगायतले खोलाको ढल निकासा, सडक र खानेपानीको समस्या समाधान हुने अपेक्षा राखेको बताएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button