तपाईँ सुन्दै हुनुहुन्छः

झापामा राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

भद्रपुर, झापा । झापामा राष्ट्रिय जनगणना २०७८ को सबै तयारी पूरा भएको छ ।

जिल्ला जनगणना कार्यालय झापाले आज जिल्ला प्रशासन कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरी जिल्लामा जनगणनाको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

जिल्ला जनगणना समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जनगणना कार्यालय भद्रपुरका प्रमुख चूडामणि लुइँटेलले तयारी बारे जानकारी गराउनु भएको थियो ।

अक्सर बसोबासका आधारमा गरिने जनगणनाका लागि झापामा दुई क्लष्टर तय गरिएको छ । माईपूर्वमा ९ वटा स्थानीय तहका लागि सदरमुकाम भद्रपुरमा कार्यालय स्थापना गरिएको छ भने माईपश्चिमका ६ वटा स्थानीय तहका लागि दमकमा कार्यालय स्थापना गरिएको लुइँटेलले बताउनु भयो ।

कोभिड १९ का कारण स्थगित भएको जनगणनाका गतिविधि कोभिड–१९ को संक्रमण घटेसँगै अघि बढाइएको थियो । 

जनगणनाका लागि झापामा ११ सय बढी गणक र २५० भन्दा बढी सुपरिवेक्षक परिचालन गरिएको कार्यालयले जनाएको छ । 

भोलि जिल्ला प्रमुख जिल्ला अधिकारी निवास र कर्मचारीका क्वार्टरहरूबाट विवरण सङ्कलन गर्दै जिल्लामा जनगणना कार्य शुरु गरिने कार्यालय प्रमुख लुइँटेलले बताउनु भयो ।

मुलुक सङ्घीयतामा गएपछि पहिलो पटक हुन लागेको यो जनगणनालाई महत्त्वका साथ हेरिएको छ ।

सुपरिवेक्षकहरूले सुपरिवेक्षण कार्य सम्पन्न गरिसकेको र तालिमप्राप्त गणकहरू भोलिदेखि आ–आफ्नो क्षेत्रमा खटिने जनगणना कार्यालय दमकका प्रमुख प्रेम घिमिरेले जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button