तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जनगणनाका लागि सल्यानमा झन्डै तीन सय गणक खट्ने

सल्यान । राष्ट्रिय जनगणनाका लागि सल्यानमा २ सय ९१ गणक खटाइने भएको छ । 

यही कार्तिक २५ गतेबाट सुरु हुने जनगणनाको तयारी अन्तिम चरणमा पुगेको र २ सय ९१ गणक प्रत्येक घरधुरीमा पुग्ने जिल्ला जनगणना कार्यालय सल्यानले जनाएको छ । 

जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको जिल्ला जनगणना कार्यालय सल्यानका जनगणना अधिकारी केशर बहादुर वलीले बताए ।

जनगणनाको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पन्न गर्नका लागि १० स्थानीय तहलाई मध्यनजर गर्दै चार वटा स्थानीय तहमा स्थानीय जनगणना कार्यालय सञ्चालन गरिएको उनको भनाई छ । 

कार्यालयका अनुसार जिल्लाको शारदा नगरपालिका र कालिमाटी गाउँपालिका हेर्ने गरी शारदा नगरपालिकामा कार्यालय स्थापना गरिएको छ । यस्तै कपुरकोट, त्रिवेणी र छत्रेश्वरी गाउँपालिका हेर्ने गरेर कपुरकोटमा, बागचौर नगरपालिका, दार्मा र सिद्ध कुमाख गाउँपालिका हेर्ने गरी बागचौरमा र कुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिका हेर्ने गरी बनगाडको देवस्थलमा कार्यालय स्थापना गरिएको वलीको भनाई छ । 

जनगणना अधिकारी वलीले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने जनगणनाको कार्यका लागि झन्डै ५४ हजार घरपरिवारको विवरण सङ्कलन गरिने बताइएको छ । 

पहिलो चरणमा घरधुरीको सङ्ख्या, महिला पुरुष र अन्यको सङ्ख्या, वित्तीय पहुँचको अवस्था, कृषिबारे सामान्य विवरण सङ्कलन गर्ने र घर नम्बर राख्ने कार्य पुरा गरिएको  बताए । 

अब दोस्रो चरणमा गणकहरूले विस्तृत विवरणसहित जाति, धर्म, संस्कृति, शैक्षिक योग्यता र आर्थिक गतिविधिका बारेमा समेत प्रश्न सोध्ने र विवरण राख्ने कार्य गरिने उनको भनाई छ ।  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button