तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली विज्ञान : छैन लगानी, स्रोत साधन अनि प्रोत्साहन

काठमाडौँ । आज नोभेम्बर १० । प्रत्येक वर्ष आजको दिन विश्व विज्ञान दिवस मनाइने गरिन्छ । विश्वका धेरै मुलुकले विज्ञान प्रविधिको क्षेत्रमा चमत्कारिक विकास गरे पनि नेपालको विज्ञान प्रविधि क्षेत्रको विकास नाजुक अवस्थामा रहेको वैज्ञानिकहरू बताउँछन् ।

मूर्ख, मन्द बुद्धि भएको भन्दै स्कुलबाट निकालिएका एक बालक, हजारौँ पटकको असफलता बेहोरेर अन्ततः रातको अँध्यारोलाई उज्यालो पार्न सफल वैज्ञानिक थोमस एल्बा एडिसनको वैज्ञानिकताले मानव जीवनमा पुर्‍याएको योगदान बलिरहेको चिम आज तपाई हामीलाई सामान्य जस्तो लाग्न सक्छ ।

आजका लागि नयाँ र महत्त्वपूर्ण लागेको कुरा समय कालसँगै उत्तिकै नयाँ र महत्त्वपूर्ण नहुन सक्छ तर खोज, अध्ययन, अनुसन्धान र प्रयोग सहित नयाँ ज्ञानले मानव जीवनको  अस्तित्वलाई सरल, सहज र उत्सुकतामा अघि बढिरहन प्रेरणा भने दिइरहेको छ । 

भनिन्छ “तपाई वैज्ञानिक नभए पनि विज्ञान तपाईँको वरिपरि छ र यो जीवनको एक हिस्सा हो ।”

सन २००१ मा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन युनेस्कोद्धारा मनाउन सुरु भएको विश्व विज्ञान दिवस, मानव समुदायले सामना गरेका चुनौतीका समाधान तथा शान्ति र विकासका लागि विज्ञानको अध्ययन र यसमा सहभागी हुन प्रेरित गर्नु उद्देश्य रहेको छ तर नेपालको विज्ञान क्षेत्रको दृश्य भने सन्तोषजनक नभएको वैज्ञानिकहरूले बताउँदै आएका छन् । 

विश्व जगतमा जति पनि विज्ञानको अभूतपूर्व खोज र  विकास भएका छन् त्यसको तुलनामा नेपालको विज्ञान प्रविधिको क्षेत्र कमजोर अवस्थामा छ । 

विज्ञान प्रविधि, अध्ययन अनुसन्धानको क्षेत्रमा कुल ग्राहस्थ उत्पादनको १ प्रतिशत योगदान हरेक राष्ट्रले गर्नुपर्ने हुन्छ तर नेपालले लक्ष्य अनुसार लगानी गर्न सकेको छैन । 

तथ्याङ्कलाई हेर्दा नेपालले सन १९९२ मा सबैभन्दा बढी ० दशमलव ४ प्रतिशत हुँदै २०१५ सम्ममा ० दशमलव ३ प्रतिशत योगदान गरेको पाइन्छ ।

विज्ञान क्षेत्रको महत्त्व र योगदानलाई प्राथमिकताका साथ लिन र बुझ्न नसक्नुको कारण नेपालको खोज अनुसन्धानको क्षेत्र दयनीय अवस्थामा गुज्रिरहेको नेपाली वैज्ञानिकहरूको भनाई छ । 

अध्ययन, अनुसन्धानका लागि पर्याप्त लगानी, स्रोतसाधन, जनशक्ति र उत्प्रेरणा विना नेपालको विज्ञान क्षेत्रले सफलता हासिल गर्न सक्ने अवस्था नरहेको बताउनुहुन्छ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिक अनुसन्धानकर्ता डा. टिस्टा प्रसाईँ ।

विज्ञान क्षेत्रलाई विद्यालयको प्राथमिक तहको अध्ययनदेखि नै प्रेरणाको विषयका रुपमा स्थापित गर्न र युवा वैज्ञानिकहरूलाई स्वदेशमै रहेर खोज अनुसन्धान गर्ने अवसर, प्रोत्साहनको आवश्यक रहेको बताउनुहुन्छ अनुसन्धानकर्ता डा.प्रसाईँ । 

यस्तै, नेपालमा खोज अनुसन्धान गर्ने संस्कृतिको विकास भई नसकेको जिकिर गर्नुहुन्छ प्रतिष्ठित म्याग्सेसे पुरस्कार विजेता नेपाली वैज्ञानिक महावीर पुन । 
राष्ट्रिय अनुसन्धान केन्द्र सञ्चालन गरिरहनु भएका वैज्ञानिक पुनले नेपाली खोज अनुसन्धान क्षेत्रको वृत्ति विकासका लागि सरकारको साथ, सहयोग कमजोर रहेको औँल्याउनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले युवा वैज्ञानिकहरूले स्वदेशमै अनुसन्धान गर्ने अवसर र प्रोत्साहनका लागि नास्ट मार्फत विभिन्न कार्यक्रम सुरुवात गरिएको बताउनुभयो । 

युवा वैज्ञानिकले आफ्ना प्रपोजल सहित अध्ययन अनुसन्धान गर्ने सक्ने गरी कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । 

नेपाल विज्ञान पत्रकार मञ्चका संस्थापक अध्यक्ष छत्र कार्की अबको समय सूचना र प्रविधिको भएको भन्दै विज्ञान प्रविधिको विकासलाई आम जनजीवनसँग जोड्ने पुलको रुपमा विज्ञान पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनहुन्छ ।

संस्थापक अध्यक्ष काकी भन्नुहुन्छ “नेपाली आमसञ्चार माध्यमहरूले विज्ञान क्षेत्रको पत्रकारितालाई कम प्राथमिकतामा राख्ने गरेको पाइन्छ, हामीले २०१४ मा नेपाल विज्ञान पत्रकार मञ्चको स्थापना गरेर विज्ञान क्षेत्रको पत्रकारिताको सुरुवात गरेका हौँ । विज्ञान र मानव जीवन अन्तरसम्वन्धित रहेकाले पनि यो महत्त्वपूर्ण विषय हो तर विज्ञान पत्रकारिताले विज्ञानका ज्ञान, जानकारी, सूचनालाई आम सर्वसाधारणसम्म बुझ्ने गरी सरल भाषामा विज्ञानलाई बुझाउन सक्नुपर्छ त्यसकालागि पत्रकारहरूको क्षमता विकास, वैज्ञानिक ज्ञान हुन आवश्यक छ ।”

मानव जीवनका लागि बिहान उठेदेखि रात अबेरसम्म विज्ञान प्रविधिको वरिपरि रहेर नै बाँच्नु आजको अपरिहार्यता बनेको छ । त्यसैले भोलि कोही नेपाली आइन्स्टाइन वा एडिसनको रुपमा जन्मिउन भन्नेतर्फ सरोकारवाला सबैले आजै ध्यान दिन जरुरी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button