छठमय मिथिलाञ्चल : प्रसाद सामाग्रीले सजाइयो घाटहरू

जनकपुरधाम । मिथिलाञ्चलसहित देशका अधिकांश तराई मधेसका जिल्लामा सूर्यको उपासना गरी श्रद्धा भक्तिपूर्वक छठ पर्व मनाइँदै छ ।
चार दिनसम्म अत्यन्त नियम निष्ठा, श्रद्धा भक्तिपूर्वक मनाइने छठ पर्व अन्तर्गत आज साँझ अस्ताउन लागेको सूर्यको विशेष पैँचा अर्चना गर्ने चलन रहेको छ । कार्तिक शुक्ल पक्ष चतुर्थी तिथिबाट नहाखाय गरेर सुरु भएको छठ पर्वमा व्रतालुहरूले आज साँझ नदी तलाउँ, पोखरीमा गई आधा शरीर पानीमा डुबाई सूर्यलाई अर्घ अर्पण गर्ने गर्दछन् ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन जनकपुरको पोखरी तलाउमा बनाइएको घाटमा खरनाको विधि सकिएपछि गए रातिदेखि नै जनकपुरधामको पोखरी तलाउँहरुमा छठको पूजा सामग्री लिएर भक्तजनहरू पुगेका छन् । यस्तै ग्रामीण भेगहरूमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरू घाटमा पुग्ने चलन छ । यस अघि मङ्गलवार साँझ व्रतालुहरूले दूध, सक्खर र चामल मिसाए बनाएको खीर छठी मैयाँलाई अर्पण गरेर आफै पनि नुनरहित प्रसादको रुपमा ग्रहण गरी खरना विधि मनाएका छन् ।

परिवार एवं सन्तानको सुख, शान्ति,समृद्धिको कामना सहित अत्यन्तै श्रद्धापूर्वक मनाइने छठ पर्वको पहिलो नहाखाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई प्रथम अर्घ तथा चौथो दिन उदाउँदो सूर्यलार्ई अर्घ दिने चलन रहेको छ । व्रत बस्ने व्रतीहरू (व्रतालु) ४८ घण्टा भन्दा बढी समयसम्म अन्न जल पनि ग्रहण नगरेर व्रत गर्ने भएकाले यसलाई निक्कै कठोर व्रत भनिन्छ ।
छठ पर्वमा बाँसको सुपली, डगरी, टपरी, नाङ्गलो, माटोको कोसिया, कुरबार, ढकना, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा, सुथनी, कागती एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्पण गर्ने चलन रहेको छ । छठमा प्रयोग हुने सामाग्रीहरू तयार पार्दा निक्कै सावधानी पूर्वक चोखो तरिकाले तयार पार्ने परम्परा रहेको छ । सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाटहरूको सरसफाइ गरेर टेन्ट, पण्डाल, बिजुली बत्ती जडान गरेर झकी झकाउँ बनाउने काम भएको छ । जनकपुरको धार्मिक तथा ऐतिहासिक महत्त्वको गंगासागर, धनु सागर, अंगराजसर, दशरथ तलाउ, अग्निकुण्ड, बाल्किमीकी सर लगायतको पोखरीहरूलाई नयाँ बेहुली झैँ श्रृङ्गर्ने काम भएको छ ।
घाटहरूमा लगाइएको झिकमिके बलले रातिको समयमा झनै मनमोहक देखिने गरेको छ । कतिपय ठाउँमा धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिइएको छ ।

मिथिलाञ्चलको गाउँघर, सहर बजार लगायत गल्लीमा गुन्जिरहेको छठ पर्वको थरथरीका सुमधुर परम्परागत गीत सङ्गीतले झनै रौनकता थपिदिएको छ । पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरू अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जाग्राम बसेर श्रद्धा भक्ति पूर्वक पूजा अर्चना गरी भोलि पल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्रीहरु लिएर घर फर्कन्छन् ।
ग्रामीण भेगका कतिपय इनारमा घाट बनाएर छठ पर्व गर्नेहरू साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् भने बिहान पख सूर्य उदाउनु केही बेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ दिने चलन पनि रहेको छ ।
उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्नुका साथै इस्ट, मित्र, नाता कुटुम्बलाई बोलाएर खुवाउने वा पठाउने चलन पनि मिथिलामा रहेको छ ।यस वर्ष कोरोना महामारीको अवस्था सामान्य भएका कारणले सर्वसाधारणमा गत वर्ष भन्दा बढी उमङ्ग र छठ पर्वको तयारी राम्रो देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्